चप्पल कारखाना-धोवीखोला सडक ८ लेनको बनाउन ठेक्का लाग्यो, डेढ वर्षमा सक्ने

नारायणगोपाल चोक-चप्पल कारखाना सडकखण्ड ।

काठमाडौं । चक्रपथ विस्तार अन्तर्गत काठमाडौंको चप्पल कारखानादेखि धोवीखोला पुल नजिकसम्म सडक स्तरोन्नतिकाे ठेक्का लागेको छ ।

सडक डिभिजन काठमाडौंले १.०३ किलोमिटर लामो उक्त सडक ८ लेनको बनाउन निर्माण कम्पनी छनोट गरेको हो । उक्त सडक विस्तारको ठेक्का शान्ति/सुशन जेभीले ४० करोड १८ लाख ३३ हजार ७१० रुपैयाँ (भ्याट र पीएससहित)मा पाएको हो ।

सडक डिभिजनले यो सडक विस्तारका लागि गत साउनमा अन्तिममा ठेक्का आह्वान गरेको थियो । जसमा १६ कम्पनीले आवेदन दिएका थिए भने प्राविधिक मूल्यांकनबाट १० कम्पनी सर्टलिस्टमा परेका थिए । तीमध्ये शान्ति/सुशन जेभीले औसत अंकभन्दा सबैभन्दा नजिकको मूल्य प्रस्ताव गर्दै ठेक्का हात पारेको हो ।

सडक डिभजन काठमाडौंका इन्जिनीयर सजित शर्माले चप्पल कारखाना-धोवीखोला सडक विस्तार गर्न निर्माण कम्पनी छनोट गरिएको बताए । यद्यपि, ठेक्का सम्झौता गर्न बाँकी रहेको उनले बताए । कम्पनी छनोट भएसँगै अब चाँडै सम्झौता गरी काम अघि बढाइने उनले बताए ।

‘चप्पल कारखाना-धोवीखोला सडक विस्तार गर्न गत साउन मसान्तमा टेन्डर आह्वान गरिएको थियो । प्राविधिक र आर्थिक मूल्यांकनबाट शान्ति/सुशन जेभी छनोट भएको छ,’ उनले मेरोअटोसँग भने, ‘अब चाँडै निर्माण कम्पनीसँग सम्झौता हुन्छ । त्यसपछि सडक विस्तारकाे काम सुरू हुनेछ ।’

यो सडक ठेक्का सम्झौता भएको १८ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो सडक नेपाल सरकारको आफ्नै लगानीमा ८ लेनको बनाउन लागिएको हो ।

नारायणगोपाल चोक-धोवीखोला पुलसम्मको सवा २ किलोमिटर सडक मध्ये पहिलो चरणमा चप्पल काराखानासम्मको ७०० मिटर ८ लेनमा विस्तार भइसकेको छ । दोस्रो चरणमा चप्पलकारखाना-धोवीखोलसम्म विस्तार गर्ने योजना भए पनि बजेट अपुग भएपछि १.०३ किमीकाे मात्र ठेक्का लगाइएकाे हाे । बाँकी खण्डसहित चाबहिल चाेकसम्म चालु आवमै ठेक्का लगाउने डिभिजनकाे याेजना छ ।

यो सडक नारायणगोपाल चोकदेखि चप्पल कारखानाको जस्तै मुख्य ८ लेनकाे हुनेछ । जसमा बीचमा ४ लेन र दायाँबायाँ २/२ लेन हुनेछ । यो बाहेक दुवैतर्फ सर्भिस लेन रहने छ । यसको डिजाइन डिभिजन कार्यालय काठमाडौं आफैंले गरेको हो ।

२७.२ किलोमिटर दूरीको चक्रपथ चरणबद्ध रूपमा विस्तार भइरहेको छ । हालसम्म कोटेश्वर कलंकी (१०.४ किमी) र नारायणगोपाल चोक-चप्पल कारखाना (७०० मिटर) गरी कुल ११.१ किमी सडक ८ लेनको बनाइसकिएको छ । कोटेश्वर-कलंकी (पहिलोखण्ड) सडक चीन सरकारले ८ वर्षअघि ५ अर्ब अनुदानमा निर्माण गरिदिएको हो । चीनले उक्त सडक २०६९ काम सुरू गरी २०७५ मा सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गरेको थियो ।

त्यस्तै, नारायणगोपाल चोक-चप्पल कारखाना ७०० मिटर सरकारले २५ करोड रुपैयाँ खर्चेर गत वर्ष निर्माण सम्पन्न गरेको हो ।

चक्रपथ अन्तर्गत अझै १६.१ किमी सडक विस्तार हुन बाँकी छ । सोमध्ये कलंकी-वसुन्धारा ८.२ किमी सडक चीन सरकारले नै करिब १२ अर्ब लगानीमा निर्माण गर्दैछ । यसका लागि गत वैशाख १६ गते नेपाल र चीन बीच अन्तिम सम्झौता भएको थियो । चिनियाँ पक्षले कात्तिक भित्रै काम सुरू गर्ने तयारी गरिरहेको सडक विभागले जनाएको छ । यो खण्डको गोंगबु-माछापोखरी चोकमा फ्लाइओभर समेत बन्नेछ ।

बसुन्धारा-नारायणगोपाल चोकसम्म मुआब्जा विवादका कारण विस्तारको टुंगो लाग्न सकेको छैन । पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले तयार पारेको ‘काठमाडौं भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टर प्लान’मा यहाँ अण्डरपास निर्माणको प्रस्ताव गरिएको छ ।

त्यस्तै, चाबहिलदेखि गौशलासम्म १५६३ मिटर लामो भूमिगत सुरूङ निर्माण गर्न प्रस्ताव गरिएको छ । यसखण्डमा सडक विस्तार गर्न खाली जग्गा उपलब्ध छैन भने विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्र भएकाले एलिभेटेड सडक निर्माण गर्न मिल्दैन । त्यसैले विकल्पमा सुरूङ निर्माण गर्ने प्रस्ताव गरिएको हो । यद्यपि, अन्तिम टुंगो लाग्न भने बाँकी छ ।

गौशलादेखि कोटेश्वरसम्म भने ८ लेनको बनाइने छ । यसखण्डमा हालको सडकको दाँयाबाँया नयाँ सडक निर्माण गरी विस्तार गर्ने योजना छ ।


Back_to_top