आयो प्लगइन हाइब्रिड टुसान : ८१ किमी रेन्ज, २९२ पीएस पावरमा

काठमाडौं । डिजाइन, प्रविधि र विद्युतीकरणका हिसाबले ठूलो परिवर्तन गर्दै दक्षिण कोरियाली कार निर्माता हुन्डाईले पाँचौं जेनेरेसन टुसान सार्वजनिक गरिसकेको छ । नयाँ टुसानको सबैभन्दा आकर्षक पक्ष प्लगइन हाइब्रिड मोडल हो ।

नयाँ टुसान पीएचईभीमा १.६ लिटर टर्बो पेट्रोल इन्जिनसँगै दुईवटा इलेक्ट्रीक मोटर प्रयोग गरिएको छ । जसमध्ये एउटा १३ किलोवाट र अर्को ७९ किलोवाटको इलेक्ट्रीक मोटर दिइएको हो ।

पेट्रोल इन्जिन र दुबै विद्युतीय मोटरको संयुक्त पावर २९२ पीएस रहेको छ । यसले अधिकतम टर्क भने ३८० न्यूटन मिटर प्रदान गर्छ ।

हुन्डाईले टुसानको पीएचईभीमा १७.१ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले फुल चार्जमा ८१ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ । दैनिक प्रयोगमा घर-अफिस गर्नेको लागि पेट्रोल आवश्यकता नपर्नेगरी नयाँ टुसान आएको मान्न सकिन्छ ।

प्रदर्शनका हिसाबले पनि नयाँ टुसान राम्रो देखिएको छ । यसले ० देखि १०० किलोमिटर प्रतिघण्टाको स्पीड केबल ७.९ सेकेन्डमा भेट्टाउन सक्नेछ । यसमा अल ह्वील ड्राइभ सिस्टमसहित ६ स्पीड अटोमेटिक गियरबक्स उपलब्ध छ ।

नयाँ टुसानको बाहिरी डिजाइन पनि अघिल्लो पुस्ताभन्दा बढी आक्रामक देखिन्छ । ‘आर्ट अफ स्टिल’ डिजाइन ल्याङ्गवेज अन्तर्गत एच आकारका अगाडि लाइट दिइएको छ ।

नयाँ टुसानमा हुन्डाईको नयाँ प्लियोस कनेक्ट सिस्टम उपलब्ध छ । यसमा १७ इन्च र १२.९ इन्चगरी दुई फरक साइजको स्क्रीन भएको मोडल छान्न सकिन्छ । ‘ग्लियो एआई’, वायरलेस फोन चार्जिङ, थ्री जोन एसी, ओभर-द-एयर अपडेट पनि पाउन सकिन्छ ।

समग्रमा पाँचौँ जेनेरेसन टुसान पीएचईभी केवल नयाँ डिजाइनमा मात्रै आएको छैन । विद्युतीय गाडीको सुविधा र पेट्रोल गाडीको लामो दूरी यात्र गर्न सक्ने क्षमताको प्याकेजको रुपमा बजारमा आएको छ ।


Back_to_top