नारायणगढ-बुटवल सडकमा थप दुई ‘क्यानोपी ब्रिज’ बनाइने

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट-बुटवल सडकखण्डमा थप दुई ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गर्ने गरिने भएको छ ।

नारायणघाट-बुटवल सडक विस्तार योजना पूर्वीखण्डले बाँदरलाई बाटो काट्न सहज बनाउन नवलपुरको जंगलमा थप दुईवटा क्यानोपी ब्रिज निर्माण गर्ने भएको हो ।

आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार कावासोती र लाकाहाको बीचमा पर्ने जंगल तथा चोरमारा र अरुणखोलाको बीचमा रहेको जंगलमा दुईवटा ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्ने तयारी भइरहेको हो ।

उनले बाँदरका कारण राजमार्गमा दुर्घटना बढ्दै गएपछि न्यूनीकरणका लागि क्यानोपी ब्रिज बनाउन लागिएको बताए । ‘सडकमा बाँदर आउन थालेपछि दुर्घटना बढ्दै गएको छ । त्यसैले बाँदर सडकमा नआई आवतजावत गर्न सकुन भनेर क्यानोपी ब्रिज बनाउन लागिएको हो,’ उनले भने ।

यसअघि नवलपुर खण्डको गैंडाकोट-१० स्थित पितौंजी जंगलमा एउटा ओभरहेड क्यानोपी ब्रिज निर्माण भइसकेको छ । उक्त पुलमा बाँदरलाई आकर्षित गर्नेगरी फलफूल राख्ने तयारी गरिएको उनले बताए ।

नारायणघाट बुटवल सडक विस्तार योजनामा सुरुको डिजाइनमा ओभरहेड क्यानोपी ब्रिज नराखिएको भए पनि आवश्यकताका आधारमा थप गर्दै लगिएको उनको भनाइ छ ।


Back_to_top