काठमाडौं । बीएमडब्लू मोटार्डले ४५० सिरिजमा नयाँ मोटरसाइकल ल्याएको छ । कम्पनीले आफ्नो इन्ट्री लेभल मोटरसाइकल सिरिज विस्तार गर्दै ग्लोबल मोडलको रुपमा नयाँ एफ ४५० आर नेकेड रोडस्टर मोटरसाइकल सार्वजनिक गरेको हो ।
कम्पनीले यसअघि सार्वजनिक गरेको एफ ४५० जीएस एड्भेन्चर मोटरसाइकलकै प्लेटफर्ममा आधारित एफ ४५० आरलाई तुलनात्मक रूपमा कम्प्याक्ट र सडक केन्द्रित मोटरसाइकलका रूपमा ल्याएको हो ।
एफ ४५० आरमा एंगुलर फ्युल ट्यांक एक्सटेन्सन, ब्राकेट आकारको डीआरएलसहितको एलईडी हेडलाइट र स्प्लिट सिट डिजाइन दिइएको छ । टेपर गरिएको आल्मुनियम ह्याण्डलबार र कम्प्याक्ट बडीवर्कले यसलाई स्पोर्टी तथा सडककेन्द्रित स्वरूप प्रदान गरेको छ ।
यसको रेडी-टु-राइड तौल १७५ किलोग्राम रहेको छ । यसको स्ट्याण्डर्ड सिट उचाइ ७९० एमएम रहेको छ । ग्राहकले ७७५ एमएमको लो सिट वा ८१० एमएमको हाइ सिट विकल्पसमेत रोज्न सक्नेछन् । यसमा १४ लिटरको फ्युल ट्यांक रहेको छ भने कम्पनीले २६.३ किलोमिटर प्रतिलिटर माइलेज दाबी गरेको छ ।
बीएमडब्लू एफ ४५० आरमा ४२० सीसीको, लिक्विड कुल्ड, समानान्तर ट्वीन सिलिण्डर इन्जिन प्रयोग गरिएको छ । डुअल ओभरहेड क्यामसाफ्ट र प्रत्येक सिलिण्डरमा चार भल्भ भएको यो इन्जिनले ४८ एचपी पावर र ४३ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा ६-स्पीड गियरबक्स जडान गरिएको छ । यही इन्जिन प्लेटफर्म एफ ४५० जीएसमा समेत प्रयोग हुँदै आएको छ ।

बीएमडब्लूले एफ ४५० आरलाई बेस, एक्सक्लुसिभ, एम स्पोर्ट र एम स्पोर्ट विथ इनोभेसन प्याकेज गरी चार कन्फिगरेसनमा उपलब्ध गराउने घोषणा गरेको छ । एक्सक्लुसिभ भेरियन्टमा सिफ्ट असिस्टेन्ट प्रो र स्पोर्ट सस्पेन्सन थपिन्छ । एम स्पोर्टमा राइडिङ मोड्स प्रो समेत उपलब्ध हुन्छ ।
यसको इनोभेसन प्याकेजको मुख्य आकर्षण इजी राइड क्लच सिस्टम हो । सिफ्ट असिस्टेन्ट प्रोसँग संयोजन गर्दा यसले राइडरलाई क्लच लिभर नचलाइकन मोटरसाइकल अगाडि बढाउन, रोक्न तथा गियर परिवर्तन गर्न सहज बनाउँछ ।
यद्यपि, राइडरले गियर आफैं छनोट गर्नुपर्छ र आवश्यक परे क्लच लिभरबाट म्यानुअल रूपमा पनि संचालन गर्न सकिन्छ । यही प्रविधि एफ ४५० जीएसमा समेत उपलब्ध छ ।
एफ ४५० आरमा ट्युबुलर स्टिल स्पेस फ्रेम तथा अपसाइड डाउन फ्रन्ट फोर्क प्रयोग गरिएको छ । पछाडि आल्मुनियम डबल-साइडेड स्विङआर्म दिइएको छ । रियर सस्पेन्सनमा स्प्रिङ प्रिलोड र रिबाउण्ड ड्याम्पिङ एड्जस्ट गर्न सकिन्छ । मोटरसाइकलमा १७ इन्चका कास्ट-आल्मुनियम ह्वील प्रयोग गरिएको छ । अगाडि र पछाडि सिंगल डिस्क ब्रेक दिइएको छ ।
यसमा कर्नरिङ क्षमता भएको एबीएस प्रो, डाइनामिक ब्रेक कन्ट्रोल, डाइनामिक ट्रयाक्सन कन्ट्रोल तथा इन्जिन ड्रयाग टर्क कन्ट्रोलजस्ता सुरक्षा प्रणाली दिइएको छ । मोटरसाइकलमा ६.५ इन्चको टीएफटी डिस्प्ले, कनेक्टिभिटी फिचर, हिटेड ग्रिप्स, यूएसबी–सी चार्जिङ पोर्ट तथा अल–एलईडी लाइटिङ उपलब्ध छ ।

