ब्याट्री नै तरल पदार्थमा डुबाएर चिसो बनाउने बीवाइडीको नयाँ प्रविधिकाठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल र ब्याट्री उत्पादनमा अग्रणी कम्पनी बीवाइडीले ब्याट्री सेललाई नै विशेष किसिमको तरल पदार्थमा डुबाएर चिस्याउने नयाँ प्रविधिको पेटेन्ट दर्ता गरेको छ । कम्पनीको यो प्रविधि परम्परागत बाहिरबाट चिस्याउने तरिकाभन्दा विल्कुलै फरक हो ।
यसमा ब्याट्री तरल पदार्थ भित्र राखिनेछ भने निकै संवेदनशील मानिने विद्युतीय उपकरण छुट्टै सुक्खा कम्पार्टमेन्ट बनाएर राखिनेछ ।
कम्पनीले गरेको पेटेन्ट दर्तामा तरल र विद्युतीय प्रणालीबीच सुरक्षीत जडानको लागि विद्युतीय तार तथा संकेत जडानलाई तरल कक्षको माथिल्लो भाग हुँदै बाहिर निकाल्ने संरचना पेश गरेको छ ।
चीनको राष्ट्रिय बौद्धिक सम्पत्ति प्रशासन (सीएनआईपीए) ले अक्टोबर ५, २०२६ मा प्रकाशित गरेको ‘सीएन १२२८६८८३२ ए’ नम्बरको पेटेन्ट आवेदन ऊर्जा भण्डारण प्रणालीका लागि तयार गरिएको हो । बीवाइडीले यो आवेदन मार्च २०२५ मै दर्ता गराएको थियो ।
पेटेन्टमा ब्याट्री क्याबिनेटलाई दुई भागमा विभाजन गरिएको छ । माथिल्लो भागमा विद्युतीय उपकरण तथा नियन्त्रण प्रणाली रहनेछ भने तल्लो भागमा ब्याट्री सेल मोड्युललाई गैर-विद्युतीय चालक डायइलेक्ट्रिक लिक्वीडमा डुबाइनेछ ।
अहिले भएका ब्याट्रीमा मोड्युलसँग जोडिएको धातुको ताप प्लेटमार्फत बाहिर निकालिन्छ । तर, डुबाएर चिस्याउने प्रणालीमा ब्याट्रीको बाहिरी सतह नै चिसो तरल पदार्थको सम्पर्कमा रहने भएकाले ताप सजिलै बाहिर जाने कम्पनीको दावी छ ।
यद्यपि, यस्तो संरचनामा सबैभन्दा ठूलो चुनौती लिक्वीड भित्र रहेको ब्याट्रीबाट विद्युतीय तारलाई सुरक्षित रूपमा बाहिर निकाल्नु हुने देखिन्छ । बीवाइडीका अनुसार यही समस्या समाधान गर्न तारहरु जडान गर्ने र लैजाने बाटो लिक्विड भएको कक्षको माथिल्लो भागबाट मिलाइएको छ ।
बीवाइडी र सीएटीएलका उत्पादनमा मुख्यतः अप्रत्यक्ष तरल शीतलन प्रणाली प्रयोग हुँदै आएको छ । नयाँ पेटेन्ट भने ब्याट्रीलाई नै डायइलेक्ट्रिक तरल पदार्थमा डुबाउने स्थिर ऊर्जा भण्डारण प्रणालीमा केन्द्रित छ ।
अहिले पेटेन्ट आवेदन मात्र हो । यसको उत्पादन सुरु भइसकेको होइन । बीवाइडीले पनि यसको व्यावसायिक उत्पादन सुरु हुने विषयमा कुनै जानकारी बाहिर ल्याएको छैन ।

