काठमाडौं । अक्टोबर १२ देखि सुरु हुने ‘पेरिस मोटर शो २०२६’ मा चिनियाँ अटोमोबाइल ब्रान्डको उल्लेख्य उपस्थिति हुने पम्मका भएको छ । उक्त मोटर शोमा २० चिनियाँ ब्रान्ड सहभागी हुनेछन् ।
प्रदर्शनीमा २१२, आइटो, बीवाइडी, चांगान, चेरी, डेन्जा, फोर्थिङ, फोटोन, जीएसी, जिली, जेको, लिपमोटर, ली अटो, लोटस, लिंक एन्ड को, म्याक्सस, ओमोडा, स्मार्ट, एक्सपेङ र जिकर ब्राण्डले सहभागिता जनाउने छन् ।
केही ब्राण्डले यहीबाट आफ्नो बहुप्रतिक्षित मोडल सार्वजनिक गर्न लागेका छन् । अहिलेसम्म बाहिर आएको रिपोर्ट अनुसार विभिन्न ब्राण्डले ७ नयाँ मोडल पेरिसमा सार्वजनिक गर्नेछन् ।
जिलीले मोनजारो ईएम-आई प्लगइन हाइब्रिडका प्रदर्शनीमा राख्नेछ । १.५ लिटर टर्बो इन्जिन र दुई विद्युतीय मोटरसहित ४०९ पीएस पावर प्रदान गर्ने यो गाडीले एक पटकको फुल चार्ज र फ्यूलले १ हजार १०० किलोमिटर चल्ने छ । यसको प्योर ईभी रेन्ज भने १३० किलोमिटर रहने कम्पनीले जनाएको छ ।
लिंक एन्ड कोले आफ्नो पहिलो स्टेसन-वागन ०७ जीटी देखाउनेछ । यसको प्लगइन हाइब्रिड प्रणालीले ५२३ हर्स पावर शक्ति उत्पादन गर्छ भने विद्युतीय मोडमा १७० किलोमिटर दूरी चलाउन सकिन्छ ।
ली अटो आई-६ ले युरोपमा प्रवेश गर्नेछ । यसको अधिकतम पावर ५३६ पीएस रहने छ । प्योर ईभी मोडमा ५९० किलोमिटरसम्म छ ।
एक्सपेङले ५.१ मिटर लामो जी९एल प्रदर्शनीमा राख्नेछ । यो मोडल प्योर ईभी र इआरईभी गरी दुई विकल्प सहित बजारमा आउने छ ।
त्यस्तै, लिपमोटरको डी१९ मा १ हजार भोल्ट प्रणाली र ७२० किलोमिटरसम्मको विद्युतीय दूरी रहने छ । स्मार्टले मर्सिडिज बेन्ज डिजाइनमा तयार भएको दुई सिटे स्मार्ट नम्बर २ सार्वजनिक गर्नेछ ।
यी मोडलमार्फत चिनियाँ कम्पनीहरूले युरोपेली बजारमा विद्युतीय, प्लगइन हाइब्रिड र इआरईभी प्रविधिमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता प्रदर्शन गर्ने तयारी गरेका छन् ।

