काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुल्ने भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकायहरूको उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात श्रमिक संगठनहरू, नेपाल प्रहरी, ट्राफिक प्रहरी र नयाँ बसपार्क व्यवस्थापक ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधि सहभागी थिए ।
बैठकले यात्रुको सुरक्षा, सुविधा र यातायात व्यवस्थापनलाई मर्यादित बनाउन विभिन्न महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ । निर्णय अनुसार अब टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र र युनिफर्म लगाउनुपर्नेछ छ ।
त्यस्तै, टिकटमा यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा लेख्नुपर्नेछ । लामो दूरीका बसमा अनिवार्य दुई जना चालक राख्नुपर्ने निर्णय गरेको छ ।
यो वर्ष दशैंमा करिब १० लाख यात्रु बाहिरिने आकलन गरिएको छ । व्यवसायीहरुले तोकिएको भाडादरमै टिकट बुकिङ लिनुपर्नेछ । चाडवाडको मौकामा बढी भाडा असुले कारबाही गर्ने विभागले चेतावनी दिएको छ । पारदर्शी टिकट प्रणालीका लागि सरकार, व्यवसायी र सुरक्षा निकायबीच प्रभावकारी समन्वय गरिनेछ।
त्यसैगरी, सुरक्षित यात्रा र राजमार्गमा हुने अवरोध वा दुर्घटनाको तत्काल जानकारी आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र संचालनमा ल्याइने भएको छ ।

