काठमाडौं । फ्रान्सेली कार निर्माता सिट्रोनले आफ्नो ऐतिहासिक तथा लोकप्रिय मोडल २-सीभीलाई इलेक्ट्रीक कारको रुपमा पुनः बजारमा ल्याउने भएको छ । कम्पनीले पेरिस मोटर शोमा नयाँ २-सीभीको इलेक्ट्रीक मोडल सार्वजनिक गरेको हो ।
अहिले ‘२-सीभी कन्सेप्ट’को रुपमा देखाइएको हो । यसको उत्पादन र बिक्री भने सन् २०२८ बाट थाल्ने सिट्रोनले जनाएको छ ।
फ्रान्सेली कार निर्माताले सन् १९४८ मा पहिलोपटक २-सीभी उत्पादन थालेको थियो । सन् १९९० सम्म उत्पादन भएको उक्त कार विश्वभर ३८ लाखभन्दा बढी युनिट बिक्री भएको थियो ।
यो कार सिट्रोनको सबैभन्दा चर्चित ऐतिहासिक मोडलमध्ये एक हो । अहिले विद्युतीय सवारीको बढ्दो प्रतिस्पर्धा र चिनियाँ ब्रान्डको विस्तारबीच आफ्नो ऐतिहासिक पहिचानलाई पुनर्जीवित गर्ने रणनीतिअन्तर्गत सिट्रोनले यसलाई नयाँ स्वरूपमा ल्याउन लागेको हो ।
नयाँ २-सीभी चार ढोका भएको विद्युतीय ह्याचब्याक हुनेछ । यसको डिजाइनमा पुरानो मोडलको झल्को दिने अगाडिको ढल्किएको बोनट, गोलाकार हेडलाइट, बाहिर निस्किएका फेन्डर र पछाडि सार्न मिल्ने क्यानभास छत दिइएको छ । तर, नयाँ संस्करण पहिलेभन्दा फराकिलो र मस्कुलर देखिन्छ । यसमा १९ इन्चका ह्वील प्रयोग गरिएको छ ।
यसको लम्बाइ ३.७६ मिटर छ, जुन पुरानो २-सीभीभन्दा करिब २० सेन्टिमिटर छोटो हो । सानो आकारले सहरी क्षेत्रमा पार्किङ सहज बनाउनुका साथै उत्पादन लागत घटाउने कम्पनीको अपेक्षा छ ।

भित्री भागमा हटाउन मिल्ने बेन्च सिट, सामान राख्न मिल्ने पोर्टेबल ह्याम्पर र ढोकामै अण्डा राख्ने विशेष स्थान दिइएको छ । अण्डा राख्ने सुविधा पुरानो २-सीभीको मूल अवधारणाबाट प्रेरित हो । जसले उबडखाबड ग्रामीण सडकमा अण्डा नफुटाई ओसार्न सक्थ्यो ।
विद्युतीय मोटर, ब्याट्री क्षमता र रेन्जबारे कम्पनीले विवरण सार्वजनिक गरेको छैन । यसको उत्पादन संस्करण सन् २०२८ को पेरिस मोटर शोमा सार्वजनिक हुनेछ ।

