अवतारको ‘टी-०९’ एसयूभी हाइब्रिडमा, प्योर ईभी रेन्ज ४०० किमी

काठमाडौं । चीनको प्रिमियम विद्युतीय सवारी ब्रान्ड अवतारले ‘पेरिस मोटर शो २०२६’मा आफ्नो नयाँ फ्ल्यागसिप एसयूभी टी-०९को कन्सेप्ट सार्वजनिक गरेको छ ।

चीनका तीन ठूला कम्पनी चांगान, हुवावे र सीएटीएलको प्रविधि समेटिएको अवतार टी-०९ एसयूभीको मूल्य ५ लाख युआन राखिएको छ । अहिले कन्सेप्टको रुपमा देखाइएको भएपनि सन् २०२६ मै यसको बिक्री थालिने कम्पनीले बताएको छ ।

टी-०९ मा अवतारको नयाँ ‘भिजन एक्सपेक्ट्रा’ डिजाइन ल्याङ्ग्वेज प्रयोग गरिएको छ । यसको अगाडि ग्रिलमा दिइएको अवतारको लोगोमा फरक फरक उचाइका ३६२ वटा डिजाइन एलिमेन्ट समावेश छन् ।

चांगान ग्रुपले यसमा डुअल लेयर डायमन्ड कटिङ प्रविधिमा आधारित ‘क्रिस्टल एरे लाइटिङ’ दिएको छ । इन्टेरियरमा ‘भोर्टेक्स’ नामको इमोसनल इन्टरयाक्सन सिस्टम पनि पाउन सकिन्छ ।

यसमा ११८ वटा आरजीबी एलईडी म्याट्रिक्स लाइट प्रयोग भएका छन् । ड्यासबोर्डमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर तथा सेन्टर कन्सोल र अगाडिको यात्रुका लागि दुईवटा १७.२ इन्चको डिस्प्ले उपलब्ध हुनेछ ।

टी-०९ को सबैभन्दा आकर्षक पक्ष यसको पावरट्रेन हो । यसमा २.० लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिन र तीनवटा विद्युतीय मोटर भएको इन्टेलिजेन्ट सुपर-हाइब्रिड सिस्टम प्रयोग गरिएको छ । यसको कुल सिस्टम पावर १ हजार हर्सपावरभन्दा बढी हुने कम्पनीको विवरणमा उल्लेख छ ।

यसमा सीएटीएलको ७१.२४ किलोवाट आवर क्षमताको फ्रीभोय सुपर एक्सटेन्डेड रेन्ज हाइब्रिड ब्याट्री दिइएको छ । सीएलटीसी परीक्षण अनुसार यसको प्योर ब्याट्री रेन्ज ४०० किलोमिटरभन्दा बढी हुने बताइएको छ ।

प्रविधितर्फ हुवावेको च्यानकुन इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र नयाँ ताइहाङ इन्टेलिजेन्ट कन्ट्रोल टेक्नोलोजी पाउन सकिन्छ ।

अवतार अहिलेसम्म विश्वका ७० देशमा उपलब्ध ब्राण्ड हो । कम्पनीका अनुसार अवतारका कारको औसत बिक्री मूल्य ३ लाख युआनभन्दा बढी छ । सन् २०३० सम्म ११० भन्दा बढी देश तथा क्षेत्रमा पुग्ने र कुल बिक्रीमा अन्तर्राष्ट्रिय बजारको हिस्सा ५० प्रतिशतभन्दा बढी पु¥याउने कम्पनीले लक्ष्य राखेको जनाएको छ ।


Back_to_top