काठमाडौं । नेपाली बजारमा सबैभन्दा धेरै बिक्री हुनेमा महिन्द्राको बोलेरो पिकअप रहेको छ । महिन्द्राको बोलेरो पिकअप डलब र सिंगल गरि दुई मोडलमा उपलब्ध रहेको छ । २०७५ साउनदेखि २०७६ बैशाखसम्मको १० महिनाको अवधिमा सिंगल र डबल क्याब गरि बोलेरो ३३ सय ६५ वटा बिक्री भएको तथ्यांक छ ।
यसरी हेर्दा महिन्द्रा बोलेरो नेपाली बजारमा दैनिक औषतमा ११ वटा बिक्री हुँदै आएको छ । बोलेरो पिकअप सामान ओसारपसारका साथै यात्रु बोक्ने काममा समेत प्रयोग हुँदै आएको छ ।
ग्रामिण भेगमा यात्रु ओसारपसार गर्न सार्वजनिक यातायातकै रुपमा पिकअप प्रयोग हुँदै आएको छ । यसका साथै डबल क्याब पिकअप निजी सवारीको रुपमा समेत प्रयोग हुँदै आएको छ ।
सवारीको बनोट र त्यसमा भएको सुविधा अनुसारको उपयोग पनि भिन्दा भिन्दै हुने गरेको छ । सबै सेगमेन्टका सवारीको आ–आफ्नै विशेषता हुन्छन् । त्यो मध्येको एउटा सेगमेन्ट हो पिकअप, जसलाई स्मल ट्रक पनि भनिन्छ । पिकअप सेगमेन्टको गाडीलाई लाइट कमर्सियल भेइकलको रुपमा समेत हेरिने गरेको छ ।
पछिल्लो समय सवारी उपभोक्ताहरुको रोजाइमा कम्प्याक्ट एसयूभी, एसयूभी बढी पर्न थालेको छ । विगतमा सेडान कार धेरैको रोजाइमा पथ्र्यो । सहरी क्षेत्रमा रहने उपभोक्ताहरुले ह्याचब्याक र सेडान रोज्ने गरे पनि अफ रोडमा जाने उपभोक्ताको रोजाइमा एसयूभी वा पिकअप पर्ने गरेको छ ।
नेपालका अधिकांश बाटोहरु ग्रामिण इलाकामा पर्छन् । त्यस्ता बाटोका लागि कि एसयूभी कि पिकअप उपयुक्त मानिन्छ । अफरोड वा एडभेन्चर यात्राका लागि पिकअप नै उपयोगी हुन्छ । किनकी पिकअपमा सामान राख्नका लागि पछाडिको भागमा ठूलो स्पेस रहेको छ ।
व्यक्तिगत प्रयोजनदेखि परियोजनासम्मका लागि पिकअप उपयोगी सवारी हो । पिकअप गाडीका सबै चक्कामा बराबर पावर डिष्ट्रिव्युट भएर गुड्ने भएकाले केही सामान सहित धेरै अफरोड यात्रा गर्नेहरुमा लोकप्रिय भएको हो ।
नेपाली बजारमा बोलेरो पिकअप १४ सय ९८ सीसीदेखि २५ सय २३ सीसीसम्म इन्जिन क्षमतामा उपलब्ध रहेको छ । बोलेरोको मूल्य १६ लाख ८० हजारदेखि ४० हजार ८० हजाररुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।


