२०२६ भित्रै भारतमा बनेका ३ नयाँ इलेक्ट्रीक एसयूभी लन्च हुँदै

काठमाडौं । पछिल्लो समय भारतमा विद्युतीय सवारीको प्रयोग तीव्र रुपमा बढिरहेको छ । बजारमा माग बढेसँगै विदेशीसँगै भारतीय अटो ब्राण्डहरूले धमाधम नयाँ मोडल ल्याइरहेका छन् ।

सन् २०२६ को हालसम्म भारतमा उत्पादन भएका झण्डै आधादर्जन नयाँ ईभी मोडल लन्च भइसकेका छन् । यो वर्ष महिन्द्रा एक्सयूभी थ्री एक्सओ, मारुती र्ई िभटारा, टोयोटा अबर्न क्रुजर, किया सिरोस ईभी लगायत मोडल बजारमा आए ।

भारतीय बजारमा ‘इण्डिया मेड’ ईभीकै वर्चश्व देखिन्छ । यही वर्ष भित्रै भारतमै उत्पादन भएका थप ३ नयाँ ईभी बजारमा आउने सम्भावना छ । टाटा, होण्डा र हुन्डाईले नयाँ ईभी ल्याउने भएका हुन् । टाटाले सफारी ईभी, होण्डाले ० अल्फा र हुन्डाईले नयाँ कम्याक्ट एसयूभी ल्याउने भएका हुन् ।

यी तीन वटै ईभी भारतमा बिक्री सुरू भएपछि नेपाली बजारमा पनि आउने छन् । टाटा र हुन्डाईका ईभी नेपालमा बिक्री भइरहेकाले नयाँ मोडल आउने लगभग निश्चित छ । होण्डाका आइस कार मात्रै बिक्री भइरहेकाले पहिलो मोडलको रुपमा ० अल्फा आउने सम्भावना बलियो छ ।

१. टाटा सफारी ईभी

टाटा मोटर्सले नोभेम्बर महिनाको सुरूवातमै आफ्नो नयाँ प्रमुखको रूपमा सफारी ईभी सार्वजनिक गर्ने सम्भावना छ । यो टाटाको लाइनअपमा सबैभ्न्दा ठूलो ईभी समेत हुनेछ । यसको आगमनपछि अल्ट्रोज मात्र ईभीमा उपलब्ध नहुने मोडल बन्नेछ ।

टाटा सफारी ईभीले महिन्द्रा एक्सईभी ९ एस र एमजी टोमहक ईभीसँग प्रतिस्पर्धा गर्नेछ । थ्री रो एसयूभीको रुपमा उपलब्ध हुने सफारीमा ६ र ७ सिटको विकल्प हुनेछ । स्पाइ तस्बिरहरूका अनुसार यसमा अगाडिको यात्रुका लागि भिडियो, गेम र नेभिगेसन चलाउन मिल्ने छुट्टै टच स्क्रीनसहित तीनवटा ड्यासबोर्ड डिस्प्ले रहनेछन्। टाटाले यसलाई रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ दुवै अप्सनमा ल्याउने छ । सफारी ईभीले एकपटकको फुल चार्जमा लगभग ६०० किलोमिटरसम्मको रेन्ज दिने अपेक्षा गरिएको छ ।

२. होण्डा ० अल्फा ईभी

होन्डाले ‘० अल्फा’ कन्सेप्टमा आधारित आफ्नो पहिलो भारत निर्मित पहिलो इलेक्ट्रीक एसयूभी आगामी २ डिसेम्बरमा सार्वजनिक गर्दैछ । यसको औपचारिक बिक्री भने सन् २०२७ को जनवरीदेखि सुरू हुनेछ ।

० अल्फा उच्च एरोडायनामिक दक्षता र स्विपी बाहिरी बनावटको रहेको छ । यो मिडसाइज एसयूभीको भित्री भागमा फ्ल्याट बटम स्टेयरिङ ह्वील, ट्याब्लेट आकारको टच स्क्रीन र फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहनेछ । यसमा ६५ देखि ७५ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक रहने छ । जसको टप भेरियन्टले फुलचार्जमा ६५० किलोमिटकोरसम्मको रेन्ज दिनेछ ।

३. हुन्डाई एचई१आइ

कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईले पनि नयाँ कम्प्याक्ट इलेक्ट्रीक एसयूभी लन्च गर्ने सम्भावना छ । कम्पनीले डिसेम्बरको अन्त्यसम्म ईभी ‘एचई१आइ’ कोडनाम दिइएको अल इलेक्ट्रिक कम्प्याक्ट एसयूभी सार्वजनिक गर्नेछ । बक्सी र रग्डलुक रहेको यस कारमा हुन्डाईको बहुचर्चित पिक्सेल थिम लाइटहरू प्रयोग गरिनेछ।

नयाँ कम्प्याक्ट ईभी मार्फत हुन्डाईले आफ्नो नयाँ विश्वव्यापी इन्टेरियर डिजाइन सार्वजनिक गर्दैछ । जसमा ९.९ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १२.९ इन्चको ठूलो इन्फोटेनमेन्ट टचस्क्रीन दिइनेछ । लेभल २ एडास प्रविधिसहित आउने नयाँ एसयूभीमा चिनियाँ कम्पनी एसभोल्टले उत्पादन गरेको ब्याट्री सेल प्रयोग हुनेछ, जसको ठूलो ब्याट्री प्याक भेरियन्टले ५०० किलोमिटरसम्म रेन्ज दिनेछ ।


Back_to_top