नयाँ एटो-३ आएसँगै बढ्यो आयात, मूल्य भेरियन्टमै १५ लाख फरक

काठमाडौं । बीवाइडी एटो-३ को आयातमा सुधार देखिएको छ । फेसलिफ्ट मोडल सार्वजनिक भएसँगै यसको आयात वृद्धि भएको हो ।

नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ एटो-३ असोज महिनामा मात्रै १५० युनिट आयात गरेको छ । उक्त आयात करिब एक वर्षपछि आएको सबैभन्दा धेरै युनिट हो ।

कम्पनीले यसअघिकै जस्तो अपग्रेड भएको मोडल पनि दुई भेरियन्टमा उपलब्ध गराएको छ । मूल्य भने नयाँ कर निर्धारण अनुसार वृद्धि भएर आएको हो ।

एटो-३ एड्भान्स भेरियन्टको मूल्य ६२ लाख ९० हजार छ । टप भेरियन्ट सुपेरियर भने ७८ लाख रुपैयाँ तिरेर किन्नु पर्ने हुन्छ । सरकारले सीआइएफ भ्यालू (कस्ट, इन्स्याेरेन्स र फ्रेट) का आधारमा कर लगाउन थालेसँगै एटो-३ महँगो भएको हो ।

यसअघि एटो-३ एड्भान्स र सुपेरियर बीच १० लाख ९० हजारको अन्तर थियो । एड्भान्स भेरियन्टको मूल्य ५६ लाख ९० हजार र सुपेरियरको मूल्य ६७ लाख ८० हजार थियो । अब दुई भेरियन्ट बीचको ग्याप बढेर १५ लाख १० हजार पुगेको हो ।

नेपालमा सर्वाधिक बिक्री भएको एटो-३ यसअघि ४ हजार २९९ युनिट नेपाल आइसकेको छ । असोजमा आएको १५० युनिट थप गर्दा कुल आयात ४ हजार ४४९ युनिट पुगेको छ ।

साइमेक्स इंकले सन् २०२२ मा १० युनिट, २०२३ मा १५३२ युनिट, २०२४ मा २०६८ युनिट, २०२५ मा ६३६ युनिट आयात गरेको थियो । सन् २०२६ को अक्टोबर १५ तारिखसम्म २०३ युनिट आएको देखिन्छ । यो आयात तथ्यांकले एटो-३ नेपालको सर्वाधिक सफल इलेक्ट्रीक एसयूभी भएको पुष्टि गर्छ ।

नयाँ एटो-३ मा के भए परिवर्तन ?

सन् २०२६ मोडल एटो-३ मा डिजाइनदेखि भित्री सजावट, सुविधा, सुरक्षा फिचरसँगै केही टेक्नोलोजीमा पनि परिमार्जन भएको कम्पनीले जनाएको छ ।

नयाँ एटो-३ लाई बीवाइडीले ‘डाइनामिक ड्रागन फेस’ डिजाइनमा तयार गरेको हो । अगाडिको भागसँगै पछाडिको डिजाइन पनि परिमार्जन गरिएको छ । पछाडिको स्पोइलर, माथिल्लो भागमा राखिएको ब्रेक लाइट र ‘चाइनिज नट’ शैलीको पछाडिको बत्तीले यसको बाहिरी डिजाइन पृथक देखिन्छ ।

नयाँ एटो-३ मा कन्टिनेन्टलले उत्पादन गरेको टायर पाउन सकिन्छ । भित्र ड्यासबोर्डमा १५.६ इन्चको घुम्ने स्क्रीन छ । उक्त स्क्रीनले मनोरञ्जनसँगै गाडीसम्बन्धी सूचना पनि प्रदान गर्छ ।

ड्यासबोर्डमा ८.८ इन्चको पूर्ण एलसीडी स्क्रीन छ । स्टेयरिङ कोलुममै गियर सेलेक्टर ल्याइएको छ । नयाँ एटो-३ एडभान्स र सुपेरियर दुवै भेरियन्टमा अगाडिका सिट भेन्टिलेटेड छन् । कुलिङ सहितको ५० वाटको वायरलेस फोन चार्जर पाउन सकिन्छ ।

मनोरञ्जन प्रदान गर्न कारमा ८ वटा स्पिकर, पानोरामिक सनरुफ लगायतका सुविधा छन् । सुरक्षाको लागि एडाप्टीभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेक, लेन किप अस्सिट लगायतका एडास भित्र पर्ने सुरक्षा फिचरको लामो लिस्ट उपलब्ध छ ।

एटो-३ लाई बीवाइडीले ‘ई-प्लाटफर्म ३.०’मा आधारित रहेर बनाएको हो । यसले विद्युतीय प्रणाली, सुरक्षा, दक्षता र गाडीको संरचनालाई एकीकृत गर्नेछ ।

दुई भेरियन्टमा फरक के के ?

दुवै भेरियन्टमा धेरै कुरा समान छन् । तर ब्याट्री साइज र रेन्जमा फरक छ । एड्भान्सको डब्लूएलटीपी रेन्ज ३४५ किलोमिटर छ । यसमा ४९.९२ किलोवाट आवरको ब्याट्री छ ।

सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री भएको कारण यसले ४२० किलोमिटर रेन्ज दिन्छ । लामो यात्रा गर्नेको लागि सुपेरियर ठिक हुन्छ । दुवैमा १०० किलोवाटकै मोटर र ३१० न्युटन मिटर टर्क पाउन सकिन्छ ।

यी बाहेक केही कस्मेटिक परिवर्तन पनि देख्न सकिन्छ ।


Back_to_top