काठमाडौं । जर्मन अटोमोबाइल निर्माता फक्सवागेनले चीनको आन्हुई प्रान्तस्थित हेफेई सहरमा लेभल-३ अटोनोमस ड्राइभिङ प्रविधिको सडक परीक्षण गर्ने अनुमति पाएको छ ।
परीक्षण अनुमतिसँगै कम्पनीले सन् २०२७ सम्ममा सर्तसहितको स्वचालित ड्राइभिङ प्रविधि तयार गर्ने लक्ष्यमा अर्को सफलता मिलेको जनाएको छ ।
फक्सवागेन चाइनाका अनुसार कम्पनीले अनुमति पाएसँगै हेफेईमा वास्तविक सडक परीक्षण र आवश्यक तथ्यांक संकलन सुरू गरेको छ । यद्यपि, परीक्षणमा सहभागी हुने गाडीका मोडल, परीक्षण मार्ग र गाडीको संख्याबारे खुलाएको छैन ।
कम्पनीले सन् २०२७ मा लेभल-३ अटोनोमस ड्राइभिङ प्रविधि तयार गर्ने र सन् २०२९ सम्ममा लेभल-४ प्रविधि विकास सक्ने लक्ष्य राखेको जनाएको छ । सन् २०२७ को दोस्रो अर्धवार्षिकदेखि लेभल-३ प्रविधियुक्त गाडी बिक्री सुरू गर्ने लक्ष्य कम्पनीले बनाएको छ ।
चीनमा लेभल-३ प्रविधिको विकासका लागि फक्सवागेनले हर्जोन रोबोटिक्ससँग सहकार्य गरिरहेको छ । यी दुई कम्पनीको संयुक्त कम्पनी ‘कारिजन’ले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित ड्राइभिङ सिस्टम विकास गरिरहेको छ । यस परियोजनामा फक्सवागेनले करिब २.४ अर्ब युरो लगानी गरेको छ ।

