काठमाडौं । चेरी ग्रुप अन्तर्गतको जेको जे-५ प्रो नेपाली उपभोक्ताको लागि उत्कृष्ट अफर बनेर आएको छ । मूल्यको हिसाबले यसअघि बिक्री भएको जे-५ भन्दा ८ लाख कम मूल्यमा आएको हो ।
यसलाई मैले उपत्यकाको विभिन्न स्थानमा चलाएर हेरेँ । उपत्यका भित्रको उकालो, ओरालो कच्ची, पक्की र सिधा बाटोमा चलाएर हेर्दा मलाई यसको सबैभन्दा मनपरेको पावर हो । १५५ किलोवाटको मोटर र त्यसले प्रदान गर्ने २८८ न्यूटन मिटर टर्क सबै किसिमका बाटाहरुको लागि उपयुक्त छ ।
फ्रन्ट ह्वील ड्राइभ सिस्टम उपलब्ध एसयूभी ५० लाखभन्दा कम मूल्यमै किन्न पाइन्छ । यसको डिजाइन अर्को मलाई निकै मन पर्यो । जे-५ प्रोको इन्टेरियर होस् वा एक्सटेरियर दुबैको डिजाइन निकै मिनिमल लाग्छ । धेरै झल्याक झुलक नचाहने उपभोक्ताको लागि यो ‘वेस्ट डिल’ हुन सक्छ ।
अन्तर्राष्ट्रिय बजारमा निकै चर्चित रेन्ज रोभरको डिजाइनमा यसलाई पाउन सकिन्छ । त्यसैले यसलाई चीनमा सार्वजनिक भएदेखि नै धेरैले ‘बेबी रेन्ज रोभर’ भनेका थिए ।
नेपालका लागि ओमोडा एण्ड जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले नाइमा मोविलिटी एक्स्पो मार्फत नयाँ जे-५ प्रो बिक्री सुरू गरेको हो ।
ब्याट्री र रेन्ज
हामीले उपत्यकाको विभिन्न स्थानमा चलाएको आधारमा जे-५ प्रोले सिंगल चार्जमा ३५० किलोमिटर आसपास रेन्ज दिन सक्ने पायौं । यसमा रहेको ५०.७ किलोवाट आवरको ब्याट्रीले कम्पनीको दावी अनुसार ४०५ किलोमिटरसम्म रेन्ज दिन्छ ।

जेको जे-५ प्रो मोडलको ग्रस वेट २१८५ किलोग्राम हाराहारी रहेको छ ।
क्लिन र टेक फ्रेन्डली क्याविन
चेरी ग्रुपले अन्तर्राष्ट्रिय बजारको लागि तयार पारेको जे-५ प्रोको क्याविन निकै क्लिन डिजाइनमा छ । सिटहरुको प्रयोग भएको निलो कलरको स्टीचिङले छुट्टै आकर्षण थपेको छ ।

टेक्नोलोजी फ्रेन्डली एसयूभीको ड्यासबोर्डमा ८.८८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १३.२ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम छ ।
कम्पनीले यसमा पानोरामिक ग्लास रूफ, एप्पल कारप्ले/एन्ड्रोइड अटो, ५० वाट वायरलेस मोबाइल चार्जिङ दिएको छ । साथै, डुअल-जोन क्लाइमेट कन्ट्रोल, फ्रन्ट सिट भेन्टिलेसन, पावर टेलगेट र ३६० डिग्री क्यामेरा लगायतका सुविधा पनि पाउन सकिन्छ ।
सुरक्षा फिचरको लामो लिस्ट
नयाँ जे फाइभ प्रोमा ६ वटा एयरब्याग पाउन सकिन्छ । युरोप र एशियाली बजारमा बिक्री हुँदै आएको जे-५ प्रोमा अन्य सुरक्षाको लागि एबीएस, ईबीडी, ब्रेक असिस्ट, अटो होल्ड, फरवार्ड कोलिजन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ जस्ता फिचर दिएको छ ।
त्यसैगरी, एडाष्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, लेन किपिङ असिस्ट, ब्लाइन्ड स्पट मोनिटरिङ, रियर क्रस ट्राफिक अलर्ट लगायत सुविधा भएको एडास लेभल २ पाउन सकिन्छ ।
साइज र ग्राउन्ड क्लियरेन्स
साइजको आधारमा पनि जेको जे-५ प्रो नेपाली सडक सुहाउदो छ । यसको लम्बाइ ४३८० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६५० एमएम छ । यसमा २६२० एमएम लामो ह्वीलवेस छ ।
कम्पनीले १८ इन्चको स्टाइलिस ड्यूल कलरमा सजिएको ह्वील दिएको छ । साथै, निकै महत्वपूर्ण लाग्ने ग्राउन्ड क्लियरेन्स पनि १८५ एमएम रहेको कम्पनीको दावी छ ।
यसमा स्पेयर टायर पनि आउने भएकोले नेपाली सडकमा यात्रा गर्दा मानसिक शान्ति सुनिश्चित हुन्छ । ४८० लिटरको बुट स्पेश पारिवारीक यात्राको लागि निकै उपयोगी हुनेदेखिन्छ ।

