काठमाडौं । अक्टोबर २०२६ को बिक्री तथ्यांक बाहिर आएसँगै भारतीय ईभी बजार फुल स्पीडमा अगाडि बढेको विश्लेषण हुन थालेको छ । सेप्टेम्बरमा एक महिनामै रेकर्ड ३८ हजार ४२५ युनिट ईभी बिक्री भएको भारतमा अक्टोबरमा ३६ हजार ७३९ युनिट बिक्री भएको हो ।
तथ्यांकको आधारमा ४.४ प्रतिशतले अक्टोबरमा बिक्री घटेको देखिएपनि जुन संख्यात्मक बिक्री पाएको छ, यसले ईभी बजार रफ्तारमै अगाडि बढ्ने देखिन्छ ।
भारतमा ईभी बिक्री गर्ने झण्डै १ दर्जन ब्राण्ड छन् । जसमा टप ५ ब्राण्ड भित्र दुई भारतीय, एक चिनियाँ, एक भियतनामी र एक दक्षिण कोरियाली ब्राण्ड रहेको छ ।
अक्टोबरमा स्थानिय ब्राण्ड टाटा मोटर्सले १४ हजार ५६४ युनिट विद्युतीय कार बिक्री गर्दै आफुलाई भारतको सबैभन्दा ठूलो ईभी उत्पादकको रुपमा निरन्तर उभ्याएको छ । टाटाले सेप्टेक्बरमा १५ हजार ६७६ युनिट कार बिक्री गरेको थियो । उसको बिक्री अक्टोबरमा ७.१ प्रतिशतले घटेको हो ।
दोस्रो स्थानमा अर्को भारतीय ब्राण्ड महिन्द्रा रहेको छ । एसयूभी एक्स्पार्ट मानिने महिन्द्राका इलेक्ट्रीक एसयूभीले भारतमा धेरैको मन जित्दै आएको छ । अक्टोबरमा महिन्द्राले ८ हजार ४७५ युनिट ईभी बिक्री गरेको तथ्यांक सार्वजनिक भएको छ । कम्पनीले सेप्टेम्बरमा बिक्री गरेको ८ हजार १९५ युनिटबाट ३.४ प्रतिशतले बिक्री बढाएको हो ।
तेस्रो स्थानमा जेएसडब्लू एमजी रहेको छ । एमजीले पनि सेप्टेम्बरको तुलनामा ६.६ प्रतिशतले आफ्नो बिक्री बढाएको छ । कम्पनीले सेप्टेम्बरमा ५ हजार ५१६ युनिट ईभी बिक्री गरेकोमा अक्टोबरमा बढाएर ५ हजार ८८० युनिट बिक्री गर्न सफल भएको हो ।
धेरै कार बिक्री गर्ने ब्राण्डको सूचीको चौथो स्थानमा भियतनामी कम्पनी भिनफास्ट रहेको छ । भिनफास्टको बिक्री भने २२.४ प्रतिशतले घटेको हो । सेप्टेम्बरमा ३ हजार ३०५ युनिट ईभी बिक्री गरेको भिनफास्टले अक्टोबरमा २ हजार ५६६ युनिट मात्रै बिक्री गर्न सफल भयो ।
किया टप ५ धेरै ईभी बिक्री गर्ने ब्राण्ड भित्र अटाएको छ । कियाको पनि बिक्री संख्या भने घटेको हो । कियाले अक्टोबरमा १ हजार ३८६ युनिट बिक्री गरेको छ । जबकी सेप्टेम्बरमा कियाको भारतमा ईभी बिक्री १ हजार ४३५ युनिट थियो ।

