काठमाडौं । चिनियाँ अटोमोबाइल ब्रान्ड बीएआईसी (BAIC) र आर्कफक्स (ARCFOX) ले पोखरामा नयाँ शोरुम सञ्चालनमा ल्याएका छन् । लक्ष्मी मोटरहबले नेपालमा बिक्री गर्दै आएका यी दुई ब्रान्डले पोखराको बुद्धचोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
शोरुमको औपचारिक उद्घाटन लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र कार्यकारी निर्देशक सुनील श्रेष्ठले गरेका हुन् ।
नयाँ शोरुम सञ्चालनमा आएसँगै पोखरा तथा गण्डकी प्रदेशका ग्राहकले यी दुई ब्रान्डका सवारीसाधन अवलोकन गर्न, विशेषताबारे जानकारी लिन तथा बिक्रीपछिको सेवा प्राप्त गर्न सहज हुने कम्पनीको अपेक्षा राखेकाे छ ।
बीएआईसी आफ्नो इन्जिनियरिङ, कार्यक्षमता र बहुउपयोगी सवारीसाधनका लागि परिचित छ। त्यस्तै, आर्कफक्सले विद्युतीय मोबिलिटी, आधुनिक डिजाइन र अत्याधुनिक प्रविधिमा केन्द्रित रहेर आफ्ना उत्पादन बजारमा ल्याउँदै आएको छ ।
एउटै शोरुमबाट दुई फरक प्रकृतिका अटोमोबाइल ब्रान्ड उपलब्ध गराउने गरी स्थापना गरिएको यस शोरुमले गण्डकी प्रदेशमा ग्राहकको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ ।
काठमाडौं बाहिर आफ्नो बिक्री तथा सेवा सञ्जाल विस्तार गर्ने रणनीतिअनुसार नयाँ शोरुम सञ्चालनमा ल्याइएको लक्ष्मी मोटरहबले जनाएको छ । पोखरालाई प्रमुख क्षेत्रीय अटोमोबाइल बजारका रूपमा लक्षित गर्दै गरिएको यो विस्तारले नेपालमा विद्युतीय तथा परम्परागत सवारीसाधनप्रतिको बढ्दो मागलाई सम्बोधन गर्ने कम्पनीको विश्वास छ।

