चीनमा उत्पादन भएको केटीएमको पहिलो मोडल आरसी ४५० सार्वजनिक

काठमाडौं । केटीएमले इटालीमा जारी इक्मा अटो शो २०२६ मा नयाँ आरसी ४५० मोटरसाइकल सार्वजनिक गरेको छ ।

केटीएमले चिनियाँ ब्राण्ड सीएफमोटोसँगको सहकार्यमा निर्माण गरेको नयाँ आरसी ४५० इटालीमा पहिलो पटक देखाएको हो ।

यी दुई कम्पनी मिलेर चीनमा १ वर्ष अघिदेखि नयाँ मोटरसाइकल उत्पादनको काम सुरु गरेका थिए । हाल सोहि मोडल इक्मामा प्रर्दशन गरेको हो ।

केटीएम पहिलो पटक चिनियाँ बजारमा प्रवेश गरि उत्पादन भएको नयाँ आरसी ४५० सीएफमोटो ४५० मोडलको प्लेटफर्ममा आधारित मोटरसाइकल हो ।

चीनमा उत्पादन भएको आरसी ४५० मोटरसाइकलको पहिलो उत्पादन २०२७ को सुरुवातमा युरोप बजारबाट गरिने बताइएको छ ।

केटीएमको आरसी ४५० सीएफमोटोको ४५० एसआर–एस मोटरसाइकलमा आधारित छ, जुन ४५० एसआरको हार्डकोर भेरियन्ट हो ।
अटो शोमा देखिएको मोटरसाइकल प्रोडक्सन मोडल नै रहेको रिपोर्टमा उल्लेख छ ।

यो मोटरसाइकलमा केटीएमको सिग्नेचर डिजाइन, स्टाइल, लुक्स र लाइटिङ ओरेन्ज कलरलाई निरन्तरता दिँदै डिजाइन गरिएको छ । आरसी ४५० मोटरसाइकलको डिजाइन केटीएमकै आरसी ९९० मोडलको जस्तै देखिन्छ ।

यो मोटरसाइकलमा दिइएको इन्जिन, ट्रेलिस फ्रेम र अन्य केही पार्टसहरू सीएफ मोटोको ४५० एसआर–एसबाटै लिइएको हुनसक्ने अनुमान गरिएको छ । मोटरसाइकललाई प्रिमियम देखाउनका लागि कम्पनीले सिंगल साइड स्वीङआर्म दिएको छ । यसले प्रिमियम मात्रै नभई ह्यान्डलिङ सुधार गर्न पनि निकै मद्दत गर्ने कम्पनीले बताएको छ ।

कुल तौल १६८ किलोग्राम रहेको नयाँ आरसीमा ४५० सीसीको प्यारालल ट्विन सिलिण्डर इन्जिन छ । दुवै मोटरसाइकलमा इन्जिन एउटै भए पनि सीएफ मोटोको एसआर ४५० भन्दा अझै बढी पावर आरसी ४५० ले जेनेरेट गर्छ । आरसीको अधिकतम पावर ५६.२ पीएस छ भने टप स्पीड १९५ किलोमिटर प्रतिघण्टा रहेको छ । एसआरले अधिकतम ५१ पीएसको पावर जेनेरेट गर्छ ।

साथै, यसमा डब्लूपीको एड्जस्टेबल सस्पेन्सन सेटअप र डब्लूपीकै स्टेयरिङ ड्याम्पर दिइएको छ । जसले मोटरसाइकललाई निकै स्थिरता प्रदान गर्ने छ । आरसीमा पूरा एलईडी लाइट सेटअप, पूरा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, एबीएस सिस्टम लगायतका अन्य धेरै फिचरहरू समावेश हुनेछन् ।

यद्यपि, यसको बजारमा आउने समय र विस्तृत प्राविधिक विवरण भने कम्पनीले आधिकारिक रुपमा सार्वजनिक गरेको छैन ।

 


Back_to_top