काठमाडौं। होण्डाले भारतमा आफ्नो नयाँ क्रुजर मोटरसाइकल रिबेल ३०० को डेलिभरी सुरू गरेको छ । कम्पनीले सार्वजनिक गरेको केही दिनमै पहिलो ब्याचका मोटरसाइकल ग्राहकलाई हस्तान्तरण गर्न थालेको हो ।
भारतका विभिन्न होण्डा बिगविङ शोरुममा रिबेल ३०० पुगेसँगै ग्राहकले मोटरसाइकलको डेलिभरी पाउन थालेका हुन् ।
होण्डाले सन् २०२६ अगस्टमा भारतमा रिबेल ३०० सार्वजनिक गरेको थियो । यसको स्ट्यान्डर्ड भेरियन्टको मूल्य २ लाख २२ हजार भारु र ई–क्लच भेरियन्टको मूल्य २ लाख ६२ हजार भारु निर्धारण गरिएको थियो ।
रिबेल ३०० मा २८६ सीसीको लिक्विड कुल्ड, सिंगल सिलिन्डर इन्जिन छ । उक्त इन्जिनले ८ हजार आरपीएममा २७.६ पीएस पावर र ६ हजार २५० आरपीएममा २४.५ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पिड गियरबक्स दिइएको छ।
यसको ई-क्लच भेरियन्ट स्ट्यान्डर्डभन्दा ४० हजार भारु महँगो छ । ई-क्लच प्रविधिमा क्लच लिभर नसमाती नै मोटरसाइकल अघि बढाउन, रोक्न र गियर परिवर्तन गर्न सकिन्छ । यद्यपि, गियर परिवर्तनका लागि फुट सिफ्टर प्रयोग गर्नुपर्छ । आवश्यक पर्दा परम्परागत तरिकाले क्लच लिभर पनि चलाउन सकिन्छ ।
स्ट्यान्डर्ड भेरियन्टको तौल १७३ किलोग्राम र ई-क्लचको तौल १७६ किलोग्राम छ । दुवैमा ६९० एमएमको सिट हाइट र ११.२ लिटर क्षमताको फ्युल ट्याङ्क दिइएको छ ।
फिचरका रूपमा टीएफटी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, टर्न बाइ टर्न नेभिगेसन, टाइप-सी चार्जिङ पोर्ट र डुअल च्यानल एबीएस उपलब्ध छन् ।

