अटो बजारमा उछाल ल्याउँदै ईभी, आयात रफ्तारमा

तस्बिर : एआइ ।

काठमाडौं । पछिल्लो ६ महिना यता नेपाली अटोमोबाइल बजारमा उछाल आएको छ । समग्र अर्थतन्त्रमा शिथिलता कायमै रहे पनि अटोमोबाइल बजार भने गुल्जार बन्दै गएको हो ।

दुई ठूला अटो शो आयोजना हुनु, फेस्टिभ सिजन, बजारमा नयाँ ब्राण्ड र मोडलको प्रवेश, मूल्यमा चर्को प्रतिस्पर्धा, बैंक तथा वित्तीय संस्थाबाट इतिहासकै सस्तोमा सहजै ऋण पाउनु, उपभोक्ताको रोजाइमा परिवर्तन आउनु लगायत कारणले कार बजारमा उल्लेख्य सुधार देखिएको हो ।

कम्बस्चन कारको माग घट्दै गए पनि विद्युतीय सवारीले अटो बजारमा उछाल ल्याएको देखिन्छ । प्यासेन्जर र कमर्शियल दुवै खाले ईभीको आयात ह्वात्तै बढेकाे छ । पछिल्लो ६ महिनामै १४ हजार बढी विद्युतीय सवारी आयात भएको छ । यसैबाट अटो बजार कति चलायमान छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

त्रैमासिक रूपमा तुलना गर्दा पछिल्लो ५ त्रैमासमै विद्युतीय गाडी आयात समग्रमा तेब्बरभन्दा धेरैले बढेको छ । पछिल्लो १५ महिनामा मात्रै झण्डै २३ हजार युनिट विद्युतीय सवारी आयात भएको तथ्यांकमा देखिन्छ ।

आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासदेखि चालु आव २०८३/८४ को पहिलो त्रैमाससम्म आइपुग्दा विद्युतीय गाडीको आयातमा उल्लेख्य वृद्धि भएको छ ।

 

गत आव २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा २ हजार ७८५ युनिट विद्युतीय गाडी आयात भएकोमा चालु आवको सोही अवधिमा १९० प्रतिशतले बढेर ८ हजार ८७ युनिट पुगेको छ । यो संख्या प्यासेन्जर कार र कमर्शियल दुवै ईभीको हो ।

त्यस्तै, गत आवको दोस्रो त्रैमासमा कुल ३ हजार ८५ युनिट विद्युतीय गाडी आयात भएकोमा थियो । पहिलो त्रैमासको तुलनामा दोस्रोमा ईभी आयात १० प्रतिशतले बढेको थियो ।

ईभी आयात तेस्रो त्रैमासमा केही घटेर २ हजार ७४७ युनिटमा सीमित भएको थियो । तर, चौथो त्रैमासमा आयात उल्लेख्य बढेर ६ हजार ७८ युनिट पुगेको छ । तेस्रो त्रैमासको तुलनामा चौथोमा ईभी आयात १२१ प्रतिशतले बढेको थियो ।

प्यासेन्जर र कमर्शियल दुवैको आयात बढ्दै

नेपालमा विगत ५ वर्षदेखि नै प्यासेन्जर कारमा ईभीको प्रयोग व्यापक भए पनि कमर्शियल भेहिकलमा निकै कम थियो । तर, पछिल्लो १ वर्ष यता भने कमर्शियलको आयात पनि ह्वात्तै बढेको देखिन्छ ।

 

पछिल्लो ५ त्रैमासमै प्यासेन्जर ईभी आयात अढाई गुणा र कमर्शियल ईभी आयात ६ गुणाले बढेको छ । आव २०८२/८३ को पहिलो त्रैमासमा २५३२ युनिट प्यासेन्जर ईभी आयात भएकोमा चालु आवको सोही अवधिमा अढाई गुणाले बढेर ६४८८ युनिट पुगेको छ । गत आवको दोस्रो त्रैमासमा २४११ युनिट, तेस्रोमा १९०८ युनिट र चौथोमा ४०१८ युनिट प्यासेन्जर ईभी आयात भएको थियो ।

त्यस्तै, आव २०८२/८३ को पहिलो त्रैमासमा केबल २५३ युनिट कमर्शियल ईभी आयात भएकोमा चालु आवको सोही अवधिमा ६ गुणाले बढेर १५९९ युनिट पुगेको छ । त्यसैगरी, गत आवको दोस्रो त्रैमासमा ६७४ युनिट, तेस्रोमा ८३९ युनिट र चौथोमा २०६० युनिट आयात भएको थियो ।

सरकारको ईभी प्रोत्साहन नीति, करमा दिएको सहुलियतले मूल्य सस्तो हुनु, बढ्दो चार्जिङ पूर्वाधार, पेट्रोलको तुलनामा संचालन र मर्मत खर्च कम हुनु लगायत कारले नेपालमा उपभोक्ता ईभीप्रति आकर्षित भइरहेका हुन् । बजारमा माग बढेसँगै आयात पनि रफ्तारमा बढेको हो ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी र एम्बरको तथ्यांक अनुसार सन् २०२५ नेपाल ईभी पेनिट्रसनमा विश्वमै दोस्रो स्थानमा रहेको थियो । सो वर्ष हरक १०० नयाँ कार बिक्री हुँदा ईभीको हिस्सा ७३ प्रतिशत थियो । यो वर्ष ईभीको हिस्सा झन् बढ्ने निश्चित छ ।


Back_to_top