काठमाडौं । प्रोटोन इमास ५ मलेसियामा सर्वाधिक बिक्री हुने विद्युतीय कार बनेको छ । इमास ५ सन् २०२६ अक्टोबरमा सबैभन्दा धेरै बिक्री हुने मोडल बनेको हो ।
अक्टोबरमा मलेसियामा समग्र ईभी दर्तामा गिरावट आए पनि इमास ५ ले सर्वाधिक दर्ता हुने ईभीको स्थान हासिल गर्दै बजारमा आफ्नो अग्रता कायम गरेको छ ।
अक्टोबर महिनामा प्रोटोन इमास ५ का २,२६२ युनिट सवारी दर्ता भएका छन् । जसले मलेसियाको कुल ईभी बजारको ४९.३ प्रतिशत हिस्सा ओगटेको छ ।
उक्त महिनामा मलेसियामा कुल ४,५९२ वटा विद्युतीय सवारी दर्ता भएका थिए । जुन सेप्टेम्बरको तुलनामा २३.८ प्रतिशतले कम र गत फेब्रुअरीयताकै सबैभन्दा न्यून मासिक दर्ता हो। यसैगरी, प्रोटोन इमास ७ का ५५४ वटा सवारी दर्ता भएका छन्। यी दुई मोडलको संयुक्त दर्ता कुल ईभी दर्ताको ६१.३ प्रतिशत रहेको छ ।
यसैबीच, अक्टोबरमा हाइब्रिड सवारीको दर्ता संख्या ५,०२३ पुगेको छ । जुन यस वर्ष दोस्रो पटक पूर्ण विद्युतीय सवारीको दर्ताभन्दा बढी हो । यसले मलेसियाको विद्युतीय तथा वैकल्पिक ऊर्जा सवारी बजारमा उपभोक्ताको रोजाइ र बजारको बदलिँदो प्रवृत्तिलाई दर्शाउँछ।
मलेसियामा इमास ५ ले हासिल गरेको यो सफलताले प्रोटोनको विद्युतीय सवारीप्रतिको बढ्दो बजार उपस्थितिलाई प्रतिबिम्बित गर्छ ।
नेपालमा पनि प्रोटोनका ईभीको माग बढ्दै गएको छ । नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले दुई मोडल इमास ७ र इमास ५ बिक्री गर्दै आएको छ ।
गत साउनमा मात्रै नेपाल प्रवेश गरेको इमास ५ ले छोटो समयमै आफूलाई स्थापित गर्ने संकेत देखाएको छ । प्रोटोन इमास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छन् ।
नेपालको कम्प्याक्ट इलेक्ट्रीक एसयूभी सेगमेन्टमै पहिलो रियर ह्वील ड्राइभ लेआउट रहेको इमास ५ मा ४.९५ मिटरको टर्निङ रेडियस, रियर मल्टि लिंक सस्पेन्सन, ८५ किलोवाटको मोटर, ४० किलोवाट आवरको सीएटीएल एलएफपी ब्याट्री र भेहिकल(टु(लोड सुविधा रहेको छ ।
७० लिटरको फ्रन्ट ट्रंक, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस र ३२ वटा स्टोरेज कम्पार्टमेन्टले यसको व्यावहारिक उपयोगितालाई थप बढाउँछन् । साथै, १४.६ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा उपलब्ध छन् । हाल इमास ५ को सुरुआती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
प्रोटोन इमास ७ प्राइम र प्रिमियम भेरियन्टमा उपलब्ध छ । यसमा ४१० किलोमिटरसम्मको डब्लूएलटीपी रेन्ज दिने एजिस सर्ट ब्लेड ब्याट्री प्रविधि, १२ इन १ इन्टिग्रेटेड मोटर र डीसी फास्ट चार्जिङ सुविधा रहेको छ । यसमा १५.४ इन्चको २.५के टचस्क्रीन, १६ स्पिकरयुक्त फ्लाइम साउण्ड सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो, विन्डशील्ड हेड अप डिस्प्ले र भेहिकल टु लोड सुविधा पनि उपलब्ध छन् । इमास ७ को सुरुआती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

