आयो रोयल इनफिल्डको नयाँ इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । रोयल इनफिल्डले आफ्नो नयाँ इलेक्ट्रीक मोटरसाइकल फ्लाइङ फ्लिया एस ६ मोडल सार्वजनिक गरेको छ । कम्पनीले इटालीको इक्मा अटो शो २०२६ मा पहिलो पटक आधिकारिक रुपमा फ्लाइङ फ्ल्यिा एस ६ प्रदर्शन गरेको हो ।

भारतमा निर्माण भएको स्क्रयाम्बलर डिजाइनमा आधारित रोयल इनफिल्डको दोस्रो मोडल फ्लाइङ फ्लिया एस ६ लाई कम्पनीले आगामी वर्षको सुरूदेखि बिक्रीका लागि उपलब्ध गराउने बताइएको छ ।

फ्लाइङ फ्लिया एस ६ मा कम्पनीले यसअघि विकास गरेको सी ६ को हलुका आर्किटेक्चर प्रयोग गरेको छ । तर, एस ६ लाई खराब सडक, कच्ची बाटो तथा ट्रेल राइडिङका लागि उपयुक्त हुने गरी तयार पारिएको छ । यो मोटरसाइकल डार्ट यल्लो र लाइटनिङ ग्रे गरी दुई रङमा उपलब्ध हुनेछ ।

यसमा अगाडि ठूलो र पछाडि तुलनात्मक रूपमा सानो वायर स्पोक ह्विल दिइएको छ । ब्लक प्याटर्न टायर, गोल्ड फिनिस भएको अपसाइड डाउन फ्रन्ट फोर्क, अग्लो फ्रन्ट मडगार्ड र लामो इन्ड्युरो स्टाइलको सिट यसको मुख्य विशेषता हुन् ।

मोटरसाइकलको निलो फ्रेम, बीच भागमा रहेको ब्याट्री र तल्लो भागमा राखिएको इलेक्ट्रीक मोटर पनि बाहिरैबाट देख्न सकिन्छ । यसमा चेन ड्राइभ प्रयोग गरिएको छ ।

कम्पनीले नखुलाए पनि नयाँ एस ६ मा सी ६ मा जस्तै ३.९१ किलोवाट आवरको ब्याट्री प्याक र १५.४ किलोवाटको मोटर रहने अपेक्षा गरिएको छ । उक्त मोटरले ६० एनएम टर्क उत्पादन गर्नेछ । यो मोटरसाइकलले एकपटकको फुलचार्जमा १५४ किलोमिटर रेन्ज दिनेछ ।

एस ६ मा गोलाकार कलर टचस्क्रीन दिइएको छ, जसमा रोयल इनफिल्डको फ्ल्यिावेर ओएस अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । उक्त डिस्प्लेबाट मोटरसाइकलको गति, ब्याट्री चार्ज, बाँकी रेन्ज लगायत राइडिङ सम्बन्धी निकै जानकारी हेर्न सकिन्छ ।

यसमा विभिन्न राइडिङ मोडसँगै विशेष अफरोड मोड पनि उपलब्ध हुनेछ । कच्ची तथा अप्ठ्यारा सडकमा चलाउन सहज बनाउने उद्देश्यले तयार पारिएको यो मोडसँगै विभिन्न इलेक्ट्रोनिक राइडर एड्ससमेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

गोलाकार हेडलाइट, अग्लो मिरर, अपराइट ह्याण्डलबार, खुला सबफ्रेम र न्यूनतम बडीवर्कले यसको स्क्र्याम्बलर लुकलाई थप आकर्षक बनाएको छ । उच्च टर्क दिने इलेक्ट्रिक मोटर, अफरोड मोड र हलुका संरचना फ्लाइङ फ्लिया एस ६ का मुख्य विशेषता हुन् ।


Back_to_top