काठमाडौं । ट्राफिक प्रहरीले चर्को आवाज निकाल्ने, साइलेन्सर मोडिफाइ गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकल विरुद्ध विशेष अभियान संचालन गरेको छ ।
मुख्यगरी अनावश्यक रूपमा ठूलो आवाज निकाल्ने र स्वरूप परिवर्तन गरिएका मोटरसाइकललाई लक्षित ट्राफिकले ‘मोडिफाइड सवारी साधन नियन्त्रण तथा ध्वनि प्रदूषण न्यूनीकरण विशेष अभियान २०८३’ चलाएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले यस अभियान अन्तर्गत उपत्यकाका विभिन्न स्थानबाट नियमविपरीत स्वरूप परिवर्तन गरी चलाइरहेका ४१५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका ती मोटरसाइकललाई कानुन अनुसार कारबाही गरिएको छ ।
यो अभियानले सडकमा ध्वनि प्रदूषण नियन्त्रण गर्न, अवाञ्छित गतिविधि रोक्न र सुरक्षित यातायात व्यवस्थापनमा सहयोग पुग्ने ट्राफिक प्रहरीको अपेक्षा छ ।
साथै, प्रहरीले सवारी साधनधनीले आफ्नो सवारीसाधन मोडिफाइ नगरी पूर्ववत् असली स्वरूपमा चलाउन, ‘मोडिफाइ’ गर्ने कार्यमा संलग्न ग्यारेज, वर्कसप, रिकन्डिसन हाउस संचालकलाई समेत उक्त कार्य नगर्न नगराउन अनुरोध समेत गरेको छ ।

