काठमाडौं । हुन्डाईले आफ्नो चर्चित कन्सेप्ट कार ‘एन भिजन ७४’ लाई व्यावसायिक उत्पादनमा नलैजाने भएको छ । रेट्रो डिजाइन र आधुनिक विद्युतीय प्रविधिको संयोजन रहने भनिएको एन भिजन ७४ उत्पादन गर्ने योजना नरहेको बताएको हो ।
हुन्डाईको एन भिजन ७४ उत्पादनमा आउने चर्चा सन् २०२३ देखि नै सुरू भएको थियो । त्यतिबेला कम्पनीले उत्पादन गर्ने तयारी गरेको भन्ने समाचार सार्वजनिक भएपछि हुन्डाईले त्यसको खण्डन नै गरेको थियो ।
सन् २०२४ को अगस्टमा आयोजित इन्भेस्टर डे कार्यक्रममा कम्पनीले फेरि एन भिजन ७४ को चर्चा गरेपछि धेरैले बजारमा आउन सक्ने अड्कलबाजी गरेका थिए ।
अहिले हुन्डाईको एन डिभिजनका प्रमुख टिल वार्टेनबर्गका अनुसार तत्काल एन भिजन ७४ उत्पादन गर्ने कुनै योजना छैन । यसको उत्पादन व्यवसायिक रूपमा सहज नरहेको बताइन्छ ।
हुन्डाईको लागि एन भिजन ७४ परियोजना सामान्य कन्सेप्ट कारको स्तरमा मात्रै सीमित थिएन । उसले यसका केही प्रोटोटाइप निर्माण गर्नुका साथै उत्पादनमा लैजान आवश्यक उपकरण र डिजाइनसमेत तयार पारिसकेको थियो । यसको बाहिरी र भित्री डिजाइनलाई अन्तिम उत्पादनको स्वरूप दिने गरी क्ले मोडलसमेत बनाइएको थियो ।
हुन्डाईले सन् २०२२ को जुलाईमा पहिलोपटक एन भिजन ७४ सार्वजनिक गरेको थियो । यो ब्याट्री र हाइड्रोजन फ्युल सेल दुवै प्रविधि प्रयोग गर्ने विशेष प्रकारको विद्युतीय कार थियो ।
यसमा हाइड्रोजन फ्युल सेलसँगै ब्याट्री प्याक जडान गरिएको थियो । दुईवटा विद्युतीय मोटरले पछाडिका दुईवटा पाङ्ग्रालाई छुट्टाछुट्टै शक्ति प्रदान गर्थे ।
ब्याट्री र हाइड्रोजन ट्यांक दुवै पूर्ण चार्ज तथा भरिएको अवस्थामा यसले अधिकतम ६०० किलोमिटरसम्म रेन्ज दिने बताइएको थियो ।
आकर्षक रेट्रो डिजाइन, उच्च पावर र हाइड्रोजन प्रविधिका कारण एन भिजन ७४ हुन्डाईको भविष्यको स्पोट्र्स कार झल्किएको थियो ।
अब एन भिजन ७४ आफैँ उत्पादनमा नआए पनि यसमा प्रयोग गरिएको डिजाइन शैलीलाई हुन्डाईले अन्य मोडलमा विस्तार गर्ने संकेत दिएको छ ।
कम्पनीले भर्खरै बजारमा उतारेको नयाँ एलान्ट्रामा एन भिजन ७४ बाट प्रभावित डिजाइन शैली देख्न पाइन्छ । त्यस्तै, भविष्यमा आउने अन्य एन सिरिजका मोडलमा पनि एन भिजन ७४ का केही डिजाइन विशेषता समावेस हुने अनुमान छ ।

