प्रधानमन्त्रीको भ्रमणमा कनेक्टिभिटी सम्बन्धी भएका ४ मुख्य सहमति

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा कनेक्टिभिटी सम्बन्धी महत्वपूर्ण सहमति भएको छ । प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटपछि कनेक्टिभिटी सम्बन्धी आधादर्जन बढी बुँदामा सहमति भएको हो ।

वषौंदेखि नेपालले उठाउँदै आएको भैरहवाबाट दुईतर्फी हवाई रुट अनुमतिमा ब्रेक थ्रु भएको छ । साथै, नयाँ बन्दरगाहमा पहुँच, रेलमार्ग निर्माणमा सहयोग, पुल, एकीकृत जाँच चौकी (आइसीपी) संचालन जस्ता महत्पवूर्ण सहमति भएका छन् ।

दुवै प्रधानमन्त्रीको भेटपछि २४ बुँदे संयुक्त वक्तव्य जारी गरिएको छ । जसमा समावेस गरिएका कनेक्टिभिटी सम्बन्धी मुख्य बुँदाहरू यस्ता छन् ।

१. प्रधानमन्त्रीहरूले हवाई सम्पर्क सञ्जाल विस्तार तथा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले नागरिक उड्डयन सम्बन्धी विषयमा भइरहेको छलफललाई ध्यानमा लिएका छन् । दुवै पक्ष विद्यमान एकतर्फी बी३४५ काठमाडौं–भैरहवा–लखनऊ हवाई मार्गलाई दुई पक्षीय बनाउने विषयमा सहमत भएका छन् । यस सम्बन्धमा आवश्यक प्रक्रिया तथा कार्यविधिलाई अन्तिम रूप दिन र हाल छलफलमा रहेका दुवै पक्षका नागरिक उड्डयन सम्बन्धी अन्य प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ ।

२. प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको ‘फिल्ड लोकेसन सर्वेक्षण’ सम्पन्न भएको घोषणा गरिएको छ भने नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमति भएको छ ।

३. प्रधानमन्त्री मोदीले दीनदयाल बन्दरगाह (काण्डला, गुजरात) मार्फत नेपालको पारवहन व्यापारका लागि नयाँ सम्पर्क मार्गको घोषणा गरेका छन् । यसका साथै, आवश्यक पूर्वाधार तयार भएपश्चात् पारादीप बन्दरगाह (ओडिशा) सम्मको पहुँच पनि उपलब्ध गराइनेछ ।

४. दुवै प्रधानमन्त्रीले अयोध्या र जनकपुरबीच सञ्चालन हुने पहिलो ‘सरयु–कमला एक्सप्रेस’ रेल सेवाको हरियो झन्डा देखाई शुभारम्भ गरे । यस रेल सेवाले आवागमनमा सहजता ल्याउनुका साथै रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्ने र भारत तथा नेपालबीचको सभ्यतागत सम्बन्धलाई थप बलियो बनाउनेछ ।

साथै, दुवै नेताले नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी (आइसीपी) र पेट्रोलियम पाइपलाइनहरूको निर्माणमार्फत सीमापार सम्पर्क सञ्जाल सुदृढ पार्ने तथा सीमा क्षेत्रका पूर्वाधारको स्तरोन्नति गर्ने महत्त्वमाथि जोड दिएका छन् ।

 

 


Back_to_top