काठमाडौं । भारतको प्रसिद्ध धार्मिकस्थल अयोध्याबाट नेपालका लागि छुटेको रेल जनकपुर आइपुगेको छ ।
सोमबार दिउँसो १२:३० बजे अयोध्याबाट हिँडेको सरयू–कमला एक्सप्रेसको रेल मंगलबार बिहान ९:४० बजे जनकपुरधाम आइपुगेको हो ।उक्त रेलले ६०४ किलोमिटर दुरी पार गर्न करिब २१ घण्टा लगाएको छ ।
सोमबार नेपालका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यमबाट झण्डा फहराएर रेल सेवाको उद्घाटन गरेका थिए ।
अयोध्याबाट पहिलोपटक जनकपुरधाम आएको रेललाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, संघीय श्रममन्त्री रामजी यादवसहित स्थानीयले भव्य स्वागत गरेका थिए । जनकपुरधाम रेल्वे स्टेसनमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा परम्परागत झाँकी आयोजना गरी रेलको स्वागत गरिएको हो ।
उक्त रेल भारतको उत्तर प्रदेश र विहार हुँदै करिब ६०४ किलोमिटर दूरी पार गरेर जनकपुर आइपुगेको हो । यो रेलका लागि भारतको जयनगर, मधुबनी, सिसो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती र मनकापुरमा लगायत स्थानमा स्टेसन राखिएको छ । जहाँबाट यात्रु ओर्लने र चढ्ने गर्छन् ।
सरयू-कमला एक्सप्रेसको रेलमा १७ वटा डिब्बा रहेका छन् । यसमा स्लीपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियर सुविधा भएका डिब्बा उपलब्ध छन् ।
अयोध्या-जनकपुर रेल सातामा एकपटक संचालन हुनेछ । जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्याको क्यान्टबाट सोमबार रेल छुट्ने छ ।
शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट छुट्ने रेल आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ । त्यसैगरी, सोमबार साँझ ५:५० बजे अयोध्या क्यान्टबाट छुट्ने रेल मंगलबार दिउँसो १२:४० बजे जनकपुरधाम आइपुग्नेछ ।
सीताको जन्मस्थल जनकपुरधाम र भगवान रामको जन्मस्थल अयोध्या जोड्ने यो रेल सेवा संचालनले दुवै देशका धार्मिक पर्यटन र यात्रुको आवागमन सहज हुने अपेक्षा गरिएको छ ।
नयाँ रेल सेवाले दुई देश बीचको यात्रु आवागमन विस्तार गर्नुका साथै धार्मिक पर्यटन, आर्थिक गतिविधि र आपसी सम्बन्धलाई थप मजबुत बनाउने रेल मन्त्रालयले जनाएको छ ।

