काठमाडौं । कर्णाली प्रदेशको महत्त्वपूर्ण रणनीतिक सडक कर्णाली करिडोरमा कालोपत्र सुरू भएको छ । १२३ किलोमिटर लामाे दक्षिण खण्ड (खुलालु-सलीसल्ला) अन्तर्गत पहिलो चरणमा बाजुराको पिलिचौरदेखि धुलाचौरतर्फ ६ किलोमिटर सडक कालोपत्र थालिएको हो ।
यो कर्णाली करिडोरमै पहिलोपटक हुन लागेको कालोपत्रको काम हो । यस प्याकेजमा आगामी दुई वर्षभित्र २३ किलोमिटर सडक कालोपत्र हुने पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताए ।
‘कर्णाली करिडोरको दक्षिण खण्डमा कालोपत्रको काम अघि बढाएका छौँ । पहिलो चरणमा बाजुराको पिलिचौरदेखि धुलाचौरतर्फ ६ किलोमिटर सडक कालोपत्रे गर्ने काम अघि बढाएका हौँ । यस प्याकेजमा आगामी दुई वर्षभित्र २३ किलोमिटर सडक कालोपत्र हुनेछ,’ उनले भने ।
कर्णाली करिडोर सरकारको प्राथमिकतामा रहेको उनले बताए । गत हप्तामात्र दक्षिण खण्ड अन्तर्गत खुलालुदेखि कोटसम्म, भुक्का खोलादेखि पिलिचौरसम्म र तुम्चादेखि सलिसल्लासम्मको कुल ४१ किलोमिटर सडकलाई कालोपत्र गर्न ठेक्का लगाइएको उनले जानकारी दिए ।
दक्षिणखण्ड अन्तर्गत कालीकोटको खुलालु-कोट १३ किमी सडक कालोपत्रको ठेक्का एमरएस यति बिल्डर्स प्रालि, सातदोबाटोले ७५ करोड ३१ लाख ३८ हजार ७१ रुपैयाँ (भ्याट बाहेक) पाएको छ ।
त्यस्तै, भुक्का खोला-पिलुचौर १५ किमीको एमरएस लामा-सुनकोशी जेभीले ७० करोड ४६ लाख ६६ हजार १६० र हुम्लाको तुम्चा-सल्लीसल्ला १३ किमीको एमरएस प्यासिफिक इन्जिनियरिङ कम्पनीले ७२ करोड ४७ लाख २६ हजार ३६ रुपैयाँमा पाएको छ ।
यसअघि दक्षिणखण्ड अन्तर्गत पिलुचौर-कुवाडी (२३.७ किमी) र कुवाडी-तुम्चा (२७.३ किमी) गरी कुल ५० किमी सडक कालोपत्र गर्न ठेक्का लगाइएको थियो । पिलुचौर-कुवाडी खण्डको ठेक्का एमरएस पीएस कन्स्ट्रक्सनले ९७ करोड ७८ लाख र कुवाडी-तुम्चा खण्डको एमरएस कोन्टेकरसिंह जेभीले १ अर्ब ४ करोड ९९ लाख रुपैयाँमा पाएको छ । दुवै खण्डमा हाल धमाधम काम भइरहेको छ ।
त्यसैगरी, कर्णाली करिडोरको उत्तरखण्डमा पनि ३९ किमी सडक कालोपत्रको ठेक्का लागेको छ । हुम्लाको खार्पुनाथ-खरिखेत १८.२ किमीको ठेक्का एमरएस दिव्यज्योति कन्स्ट्रक्सनले ८५ करोड ६२ लाख १६ हजार ६१४ रुपैयाँमा (भ्याट र पीएस सहित) पाएको छ ।
त्यस्तै, खरिखेत-सल्लीसल्ला २०.८ किमी सडक स्तारोन्नति तथा कालोपत्रको ठेक्का एमरएस एसकेसीपीएल/बीएनटी/बागमती ज्वाइन्ट भेन्चरले १ अर्ब ७९ लाख ४२ हजार ६८८ रुपैयाँमा पाएको हो । नयाँ ठेक्का लागेको सडक आगामी ३ वर्ष भित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ ।
कालिकोटको खुलालुदेखि चिनियाँ नाका हिल्सासम्म जोड्ने २६९ किमी लामो कर्णाली करिडोरको हालसम्म कुल १३० किमी सडक कालोपत्रका लागि ठेक्का लगाइएको छ ।
अर्थ मन्त्रालयले कर्णाली करिडोरको दुवै (उत्तर र दक्षिण खण्ड) स्तरोन्नति गर्न गत वर्ष कुल ६ अर्ब ११ करोड १७ लाख बजेटको स्रोत सुनिश्चित गरेको थियो ।
कर्णाली करिडोर नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय सडक हो । यो कर्णाली प्रदेशको लाइफलाइन सडक समेत हो । भारतीय सीमा बाँकेको जमुनाहदेखि सुर्खेत, कालिकोट, बाजुरा, हुम्ला हुम्ला हुँदै चीनको सिमान हिल्लसासम्म पुग्छ । यो सडक दुई लेनमा स्तरोन्नति भएपछि कर्णाली प्रदेशलाई मात्र नभई राष्ट्रिय अर्थतन्त्रलाई समेत योगदान पुर्याउने छ । कर्णालीबासीको दैनिक जीवनयापन सहज हुनुकै साथै पर्यटन प्रबद्र्धन र वैदेशिक व्यापार समेत बढ्ने विश्वास छ ।

