काठमाडौं । पृथ्वी राजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न प्रस्ताव गरिएको बेनीघाट–फिस्लिङ–मुग्लिन सडकका झण्डै ३ अर्ब रुपैयाँ स्रोत सुनिश्चित भएको छ । उक्त सडकको लागि २ अर्ब ९६ करोड रुपैयाँ स्रोत सुनिश्चित गरिएको हो ।
चितवनको फिस्लिङदेखि गोरखाको गण्डकी गाउँपालिका हुँदै धादिङको बेनीघाट जोड्ने करिब १९ किलोमिटर सडकलाई सडक विभागले पृथ्वी राजमार्गको विकल्पको रुपमा अघि बढाइएको छ ।
सडक विभागले उक्त करिडोरको करिब दुई किलोमिटर खण्डमा दुई लेनको नयाँ ट्रयाक खोल्ने काम गरिरहेको छ । बाँकी ट्रयाक खोलिसकेपछि यो सडकलाई दुई लेनमा स्तरोन्नति गर्ने योजना छ ।
पृथ्वी राजमार्गलाई देशको प्रमुख यातायात मार्गका रूपमा लिइन्छ । कृष्णभीर क्षेत्रमा पहिरो खस्दा विगतमा पनि राजमार्ग अवरुद्ध हुने र यात्रु तथा मालवाहक सवारीसाधनले लामो समयसम्म समस्या भोग्नुपर्ने बाध्यता छ ।
त्यसैलाई मध्येनजर गर्दै बेनीघाट–फिस्लिङ–मुग्लिन सडकलाई विकल्पको रुपमा अघि बढाइएको हो । स्रोत सुनिश्चित भएसँगै चाँडै ठेक्का प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।

