जाडो मौसममा कुन ब्राण्डका ईभीले दिन्छन् धेरै रेन्ज ? यस्तो छ नतिजा

काठमाडौं । जाडो मौसम सुरू भएसँगै विद्युतीय सवारी (ईभी) को रेन्ज घट्ने गरेको पाइन्छ । सामान्य अवस्थाको तुलनामा जाडो मौसममा तापक्रम घट्दा ब्याट्रीको कार्यक्षमतामा असर पर्ने भएकाले ईभीले कम रेन्ज दिने गर्छ ।

तर, सबै ब्राण्डका ईभीमा यसको असर समान अर्थात् एउटै दरमा रेन्ज घट्दैन । ब्राण्ड अनुसार ईभीले जाडोमा दिने रेन्ज पनि फरक फरक हुन्छ ।

विद्युतीय सवारी सम्बन्धी तथ्यांक विश्लेषण, अनुसन्धान तथा सूचना प्रदान गर्ने प्रविधि कम्पनी रिकरेन्टले गरेको एक अध्ययनले गर्मी मौसमको तुलनामा जाडोमा ईभीले औसतमा ७८ प्रतिशत रेन्ज दिने गरेको पाइएको छ ।

कम्पनीले विश्वका प्रमुख ब्राण्डका ५९ हजार ईभीमा अध्ययन गरेको थियो । जसमा ४३ मोडलका ईभी समावेश गरेको थियो । यद्यपि, कम्पनीले विश्वकै ठूलो ईभी उत्पादक चीनका भने कुनै ब्राण्डलाई समावेश गरेको छैन ।

अध्ययन अनुसार चिसोमा सबैभन्दा राम्रो प्रदर्शन गर्ने ईभीले ९० प्रतिशतसम्म रेन्ज जोगाउँदा कमजोर प्रदर्शन गर्नेले ७० प्रतिशत मात्रै कायम राखेको पाइएको छ ।

अध्ययन अनुसार हिट पम्प प्रणाली जोडिएका ईभीले जाडो मौसममा धेरै रेन्ज जोगाउने गरेको पाइएको छ । परम्परागत रेजिस्टिभ हिटिङ प्रणालीको तुलनामा हिट पम्प जडित ईभीले जाडोमा ८ प्रतिशत बढी रेन्ज दिने गरेको अध्ययनले देखाएको छ ।

त्यस्तै, घरमै ईभी चार्ज गर्ने र यात्रा सुरू गर्नुअघि नै गाडीको क्याबिन तताउने गर्दा पनि ब्याट्रीको ऊर्जा बचाउन सकिने अध्ययनको भनाइ छ

जाडोमा कुन ब्राण्डको ईभीले कति प्रतिशत रेन्ज दिन्छन् ?

अध्ययन अनुसार चिसो मौसममा रेन्ज जोगाउने मामिलामा पोलेस्टार पहिलो स्थानमा देखिएको छ । यसअघि शीर्ष स्थानमा रहँदै आएको टेस्लालाई पछि पार्दै स्विडिस ब्राण्ड पोलेस्टारले पहिलो स्थान हासिल गरेको हो ।

अध्ययन अनुसार पोलेस्टारका ईभीले सामान्य अवस्थाको तुलनामा शून्य डिग्री सेल्सियसमा औसत ८८ प्रतिशत रेन्ज कायम राख्छन् । त्यस्तै, माइनस ७ डिग्री सेल्सियसमा पनि ८३ प्रतिशत रेन्ज उपलब्ध हुने अध्ययनले देखाएको छ ।

त्यस्तै, चिसोमा धेरै रेन्ज दिने ईभीमा अमेरिकी ब्राण्ड टेस्ला रहेको छ । टेस्लाका ईभीले शून्य डिग्री सेल्सियसमा ८५ प्रतिशत र माइनस ७ डिग्रीमा ७७ प्रतिशत रेन्ज कायम राख्छन् ।

जर्मन ब्राण्ड अउडी तेस्रोमा रहेका छन् । यसका ईभीले शून्य डिग्रीमा ७९ प्रतिशत र माइनस ७ डिग्रीमा ७१ प्रतिशत रेन्ज दिने गरेको पाइएको छ ।

त्यस्तै, ज्यागुअरले माइनस ७ डिग्रीमा ६९ प्रतिशत र शून्य डिग्रीमा ७९ प्रतिशत, निसानले माइनस ७ डिग्रीमा ७० प्रतिशत र शून्य डिग्रीमा ७९ प्रतिशत, हुन्डाईले माइनस ७ डिग्रीमा ७० प्रतिशत र शून्य डिग्रीमा ७८ प्रतिशत, पोर्शेले माइनस ७ डिग्रीमा ६९ प्रतिशत र शून्य डिग्रीमा ७८ प्रतिशत, कियाले माइनस ७ डिग्रीमा ६८ प्रतिशत र शून्य डिग्रीमा ७८ प्रतिशत रेन्ज दिने गरेको पाइएको छ ।

त्यस्तै, फोर्डका ईभीले माइनस ७ डिग्रीमा ६९ प्रतिशत र शून्यमा ७८ प्रतिशत, होण्डाले माइनस ७ डिग्रीमा ६७ प्रतिशत र शून्य डिग्रिमा ७८ प्रतिशत, फक्सवागनले माइनस ७ डिग्रीमा ६८ प्रतिशत र शून्य डिग्रीमा ७७ प्रतिशत , बीएमडब्लूले माइनस ७ डिग्रीमा ६७ प्रतिशत र शून्य डिग्रीमा ७७ प्रतिशत रेन्ज दिने पाइएको छ ।

अध्ययनमा जापानी ब्राण्ड टोयोटा सबैभन्दा पछाडि देखिएको छ । टोयोटाका ईभीले माइनस ७ डिग्री सेल्सियसमा ५९ प्रतिशत र शून्य डिग्री तापक्रममा ७० प्रतिशत मात्रै रेन्ज कायम गर्ने गरेको देखिएको छ ।

ब्राण्डका आधारमा पालेस्टर पहिलो भए पनि मोडलमा भने टेस्लाको मोडल एस पहिलो देखिएको छ । टेस्ला मोडल एसले माइनस ७ डिग्रीमा ८२ प्रतिशत र शून्य डिग्रीमा ९० प्रतिशत रेन्ज दिने गरेको पाइएको छ ।


Back_to_top