काठमाडौं । रनर अटोमोबाइल लिमिटेडको लागि नेपालको आधिकारिक बिक्रेता रमन मोटर्सले आगामी नाडा अटो शोमा २०० सीसीको डर्ट मोटरसाइकल राख्ने भएको छ । कम्पनीले भदौ १० गतेबाट सुरु हुने अटो शोमा अफरोड भर्सनको हक मोटरसाइकल प्रदर्शनी तथा बिक्री गर्ने भएको हो ।
हाल, नेपालमा यो मोडल ३ लाख ९९ हजार मूल्यमा बिक्री भैरहेको छ । नेपाली बजारमा रनर हक रातो रङ्गमा मात्रै उपलब्ध रहेको छ ।
रमन मोटर्सका विजनेस डेभलपमेन्ट हेड सन्तोष न्यौपानेले अटोशोमा उक्त मोटरसाइकलको मूल्यमा २० हजारसम्म छुट दिने बताए ।
उच्च ग्राउण्ड क्लियरेन्स् भएको हक मोटरसाइकललाई पहाडी तथा कठिन बाटोमा पनि सहजै कन्ट्रोल गर्न सकिने न्यौपाने दाबी गर्छन् ।
यसमा उपलब्ध फोर स्ट्रोक पेट्रोल इन्जिनले ७५०० आरपीएममा १२ दशमलव ७ हर्स पावर र ५५०० आरपीएममा १४ दशमलव ५ एनएमको टर्क उत्पादन गर्छ ।
यसको लम्बाई २०९० एमएम, चौडाई ८८० एमएम र उचाई ११८० एमएम रहेको छ । यसमा १३६० एमएमको ह्वीलवेश दिइएको छ । १३२ किलोग्रामको यो मोटरसाइकलको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक लगाइएको छ ।
यो मोटरसाइकलमा ह्वाइट र रेड पेन्ट सेम, डायमन्ड फेस हेडलाइट र एनालग डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको छ ।
रमन मोटर्सले नेपाली बजारमा नाइट राइडर १५०, टर्बो १२५, बुलेट १२५ र रोयल प्लस ११० मोटरसाइकलको बिक्री गर्दै आइरहेको छ ।
यी मोटरसाइकले नाडा अटो शोमा अवलोकनकर्ताको ध्यान खिच्ने न्यौपाने बताउँछन् ।

