उपत्यकामा दुई नयाँ सडकको शिलान्यास

भक्तपुर । होली पूर्णिमाका दिन आज प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले सूर्यविनायक नगरपालिका क्षेत्रभित्र दुई सडकको शिलान्यास गरे । 

बस्नेतले सूर्यविनायक नगरपालिका–१ सिरुटार, वडा नं ३ बालकोट र वडा नं ४ दधिकोट जोड्ने सूर्यविनायकको ‘दक्षिणबाराही मन्दिर, काठमाडौँ स्कूल अफ ल क्याम्पस हुँदै पानीट्याङ्की सिरुटार सडक र कटुञ्जे चुनदेवी तीनधारा सडकको शिलान्यास गरेका हुन् । 

सडक शिलान्यास गर्दै उनले भने, ‘यस वर्ष बालकोटमा मात्रै पाँच करोड रुपैयाँ बजेट रहेको पाँच सडक र साना १३ सडक निर्माण भइरहेका छन्, यस क्षेत्रमा ढलका लागि नियमित बजेटभन्दा थप तीन करोड ८२ लाख रुपैयाँ निकासा भएको छ ।’ 

कार्यक्रममा प्रदेश नं ३ का प्रदेशसभा सदस्य शशीजङ्ग थापाले विकास तीव्रगतिमा अगाडि बढेको उल्लेख गर्दै आगामी वैशाखदेखि कलङ्की हुँदै बालकोट, चित्रपुर हुँदै तर्खगालसम्म बस सेवा सञ्चालन गर्ने तयारी गरिएको बताए । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बास्तोलाले यो वर्ष विकास र समृद्धिको वर्ष भएकाले उपयुक्त योजनालाई बजेट विनियोजन गरिएको बताइन् । 

प्रदेश नं ३ पूर्वाधार विकास कार्यालय, धुलिखेलका प्रमुख लोकनाथ रेग्मीले पाँच करोड रुपैयाँमा निर्माण शुरु हुन लागेको उक्त सडक आठ मिटरको चौडाइ र एक हजार ३०० मिटर लम्बाइ रहेको जानकारी दिदै आगामी असारसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए । 

यसैगरी आजै सूर्यविनायक नगरपालिकाको एक करोड ४० लाख रुपैयाँको लागतमा अरनिको राजमार्गखण्डमा जोडिएको फुटपाथ र ड्रेनसहित आठ मिटर चौडाइ रहने वडा नं ५ कटुञ्जेस्थित चुनदेवी तीनधारा सडक विस्तारको समेत सांसद बस्नेतले शिलान्यास गरे । 

कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले गत वर्ष नगरपालिकाले टुक्रे योजना बजेट विनियोजन गरे पनि यस वर्ष भने ठूला योजनाका लागि बजेट विनियोजन गरेको बताए । प्रत्येक वडामा एक करोड रुपैयाँको एउटै सडक योजना र अन्य ठूला योजना तीव्र गतिमा अगाडि बढेको जानकारी दिदै उनले आगामी तीन वर्षमा नगरपालिकाले विकासमा काचुली फेर्ने दाबी गरे । 


Back_to_top