नाडा प्रतिनिधिले भेटे भन्सार विभागका महानिर्देशक

काठमाडौं । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका प्रतिनिधि मण्डल र भन्सार विभागका महानिर्देशक सुमन दाहालबीच आइतबार छलफल भएको छ ।

नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको टोलीले दाहालसँगको भेटमा फेयर ट्रेड, भन्सार प्रशासन, मूल्याङ्कन र भन्सार जाँचपासको क्रममा देखिएका प्रक्रियागत समस्याहरु बारे छलफल गरेको नाडाले जनाएको छ ।

उक्त भेटघाटमा विभागका महानिर्देशक दाहालले आफ्ना नाडा प्रतिनिधि मण्डललाई स्वागत गर्दै नयाँ केन्द्रीय कार्य समितिको सफलताको कामना गरे । सो छलफलमा महानिर्देशक दाहालले व्यवसायीहरुले फेयर ट्रेडको अनुकरण गर्नु पर्ने र संस्थाले त्यसको लागि आवश्यक वातावरण तयार गरी दिनु पर्ने धारणा राखे ।

उनले पैठारी गर्ने कम्पनीहरु आफैले कर्मचारी राखि क्यियरेन्स एजेण्ट समेतको काम गर्न पाउने व्यवस्था गरिएको जानकारी दिँदै नेपालको आधिकारिक एजेन्सीले मात्र पैठारी गर्न पाउनु पर्ने नाडाको सुझाव मननीय रहेको बताए ।

उनले विल अफ एक्सपोर्टको कागज नआइकन भन्सार क्लियरेन्स पनि हुन नसक्ने बताउँदै भन्सार विभागको मुख्य जिम्मेवारी भनेको व्यापार सहजिकरण भएको र भन्सार विभागले अहिले झण्डै सतप्रतिशत आशिकुडा अनुसार कार्य गर्दे आएको बताए ।

त्यसैगरी उनले साफटा सुविधामा धेरै दुरुपयोग भएकोले यसमा सहकार्य गरेर अघि बढने बताउँदै नाडा जस्तो संस्था मार्फत काम गर्न सहज हुने भए पनि सरकारले संघसंस्थालाई वास्तविक रुपमा उपयोग गर्न नसकेको धारणा राखे ।

छलफल कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रति, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल, सुरज भट्टराई, मिलनबाबु मल्ल, पंकज अग्रवाल र कपिल शिवाकोटी समेतको उपस्थिति रहेको थियो ।


Back_to_top