काठमाडौं । निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको कारोबारमा आउने वातावरण निर्माण हुनसक्ने उद्योग, वाणिज्य तथा आपूर्ती सचिव चन्द्रकुमार घिमिरेले बताएका छन् । नेपाल आयल निगमको ४९ औँ स्थापना दिवसको अवसरमा सचिव घिमिरेले निगमले प्रतिस्पर्धीरुपमा काम गर्न नसक्ने हो भने निजी क्षेत्र यसको कारोबारमा आउन सक्छ । त्यसको लागि निगमले प्रभावकारी रुपमा कामगर्नु पर्ने उनको धारणा थियो ।
उनले पाइपलाइनको विस्तार भइरहेको क्रममा त्यसबाट आयात गरिने पेट्रोलियम पदार्थको भण्डारणका लागि हाल भएका भण्डारहरु अपुग भएको बताउँदै भण्डारहरु बनाउनको लागि सुरु गर्नुपर्ने सुझाए ।
‘२०५८ सालदेखि यता भण्डारणको क्षमता बढाउन सकिएको छैन, अबको दिनमा त्यसलाई वृद्धि गरेर लान नसक्ने हो भने गम्भिर अवस्था आउनेछ’ घिमिरेले भने ।
यस्तै उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मात्रिकाप्रसाद यादवले आयल निगमलाई व्यवस्थित गर्न सबै इमान्दार भएर काम गर्नु पर्नेमा जोड दिए ।
उनले पटक–पटक पेट्रोलको मूल्य घटेपनि सार्वजनिक सवारीसाधनहरुले कहिल्यै गाडी भाडा नघटाउने गरेको बताउँदै सबैले आ–आफ्नो ठाउँमा रहेर इमान्दारिताका साथ काम गर्न आह्वान गरे ।
‘मन्त्री सुध्रे सबै सुध्रिन्छन्, आफ्नो ठाउँबाट इमान्दारिताका साथ काम गरौँ, एकले अर्कोलाई दोष लगाउँदै नबसौँ,’ मन्त्री यादवले भने ।

