काठमाडौं । सडक छेउमा कार पार्किङ्ग गरेर कुनै कामले यताउता लाग्नु भएको छ भने, अबदेखि तपाईको कारलाई ट्राफिक प्रहरीले ह्वील लक गरेर छाडिदिने छन् ।
यसरी लक गरेपछि चालकले प्रयोग गर्ने ढोका छेउमा एउटा स्टीकर लगाएर छाड्ने गरिएको छ । जुन स्टीकरमा ह्वील लक लगाउने ट्राफिक प्रहरीको नाम, सम्पर्क गर्नुपर्ने नम्बरलगायतका विबरण उल्लेख गरिएको हुन्छ ।
‘तपाईको सवारीसाधनको ह्वील लक गरिएको छ, खोल्न तलको नम्बरमा सम्पर्क गर्नुहोला’ भन्ने उल्लेख गरिएको हुन्छ ।
यसअघि यसरी ह्वील लक लगाएर ट्राफिक प्रहरी गएपछि कहाँ फोन गर्ने भन्ने अन्योलता थियो । अब भने त्यस्तो समस्या पर्दैन । अब लक लगाउने ट्राफिक प्रहरीको नाम र मोवाइल नम्बर नै उक्त स्टीकरमा लेखेर टाँसीएको हुन्छ ।
‘अहिले ट्राफिक प्रहरी र महानगरपालीकाले जथाभाबी सडकमा पार्किङ गरिएका सवारी साधनमा ह्वील लक लगाउने गरेको छ । अहिले सवारी साधनधनीमा कहाँ र कसलाई फोन गर्ने भन्ने अन्योलता देखिएकाले हामी एउटा स्टीकर बनाएका हौँ’ उपत्यका ट्राफिक प्रहरी प्रबक्ता जयराज सापकोटाले भने ।
अहिले दैनिक १८०० चालक ट्राफिक नियम उल्लंघनको कारवाहीमा पर्दै आएको जानकारी दिर्दै सापकोटाले भने ‘जथाभाबी पार्किङ गर्ने करिब १५० सवारीसाधन दैनिक कारवाहीमा पर्दै आएका छन् ।’
यसरी सडक वा पेटी मिचेर पार्किङ गरिएको सवारीसाधन कारर्वाहीमा पर्दा एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने छ । जरिवानासँगै समय पनि खर्च हुनेछ । नजिकैको ट्राफिक प्रहरी वीटले कारवाही गरेको छ भने १० मिनेटमा कार खेलिदिने छ भने ट्राफिक प्रहरीको टीआरएस टिमले ह्वील लक गरेको रहेछ भने ३० मिनेटसम्म लाग्न सक्ने सापकोटाले जानकारी दिए ।

