स्मार्ट–सिटीको डीपीआर असारमा तयार हुने, कस्तो बन्ला चार सहर

काठमाडौं । स्मार्ट–सिटीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) आगामी २०७६ साल असारमा सम्पन्न हुने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका सहरी योजनाकार भागवत खोखालीकाअनुसार स्मार्ट–सिटीको डीपीआर असार महिनासम्ममा सकिने भएको हो । 

डीपीआरको काम भइरहेको र त्यो सकिएपछि डिजाइन आउने उनले बताए । भर्खर भिजिबिल्टी अध्ययन सकियो, यसपछि डिजाइन गरिन्छ । डिजाइनपछिमात्र स्मार्ट–सिटीको अन्य काम अघि बढ्नेछ, खोखालीले मेरोअटोसँग भने । 

डीपीआर निर्माणका लागि १५ महिना दिइएको थियो, हाल ९ महिना सकिएको छ भने डीपीआर सम्पन्न हुन अझ ६ महिना बाँकी रहेको छ । 

पछिल्लो समय स्मार्ट–सिटी निर्माणका लागि उपत्यकाका १ लाख ३० हजार रोपनी क्षेत्रफलमा कित्ताकाँट तथा भौतिक पूर्वाधार निर्माण गर्नबाट रोक लगाइएको छ । 

यी स्थानमा रोक

इशान स्मार्ट–सिटीः पूर्वतर्फ भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङ्गसम्म तथा पश्चिममा निर्माणाधीन अन्तरराष्ट्रिय क्रिकेट मैदानबाट मूलपानीको गोठाटार हुँदै मनोहरा खोलाको पुलबाट भक्तपुर जाने बाटोसम्म फैलिएको स्मार्ट–सिटीको नाम इशान राखिएको छ । 

उक्त १ लाख रोपनी क्षेत्रफलमा बन्न लागेको इशान स्मार्ट–सिटी उपत्यकामा बन्ने पहिलो स्मार्ट–सिटी हो । सो क्षेत्रफल उत्तर दिशामा साँखुबजार तथा दक्षिणमा भक्तपुरको बाटोसम्म फैलिएको छ । 

आग्रेय स्मार्ट–सिटीः १० हजार रोपनी क्षेत्रफलमा बन्न लागेको उक्त आग्रेय स्मार्ट–सिटी काठमाडौंको पूर्व–दक्षिण दिशामा पर्छ । पूर्वमा राजमार्गको सूर्यविनायक चोकदेखि मन्दिरसम्म र सूर्यविनायक वनलाई बाहिर पार्दै स्मार्ट–सिटी निर्माण हुनेछ । 

उक्त स्मार्ट–सिटीले पश्चिममा खहरेखोला, बालकोट विरुवा सडक, पानी ट्याङ्की अमरनगर, ठिमी हुँदै अरनिको राजमार्ग सिमानालाई छुनेछ । 

दक्षिणमा भक्तपुर जिल्लाको सिलामगाल, रानीकोट जङ्गलछेउ, अनन्तः लिङ्गेश्वर, फेदी, तर्खगाल, पात्लेश्वर, विरुवा हुँदै खहरेसम्म स्मार्ट–सिटी निर्माण हुनेछ । 

नैरित्य स्मार्ट–सिटीः ललितपुरलाई समेटेर निर्माण हुन लागेको उक्त सिटी १० हजार रोपनी क्षेत्रफलमा बन्न लागेको हो । सो सिटी पूर्वमा छ्यासिकोटदेखि साविकको शंखु गाविसको सिमाना हुँदै फर्सीडोल बागमती नदिको झोलुङ्गे पुलसम्म पुग्नेछ । 

उक्त स्मार्ट–सिटी पश्चिममा बागमती नदिको सिमानासम्म तथा उत्तरमा सैंबु गाविसको सिमाना नै छुनेछ भने दक्षिणतर्फ बागमती नदिसम्म फैलने प्राधिकरणले जानकारी दिएको छ । 

काठमाडौं उत्तर स्मार्ट–सिटीः १० हजार रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको यो स्मार्ट–सिटी पूर्वमा सामाखुसी, टोखारोड हुँदै बाइपास पुग्नेछ । पश्चिममा काभ्रेस्थली बाइपास जाने मूल सडक जोडिनेछ । 

उत्तरमा सपनातीर्थ हुँदै काभ्रेस्थलीतिर जानेछ भने दक्षिणमा ग्रीनल्याण्ड चोकदेखि मनोरथ हुँदै महादेवखोला काभ्रेस्थलीको मूल सडकको पुलसम्म पुग्नेछ ।

सरकारले सन् २०६० सम्ममा ५० वटा स्मार्ट–सिटी निर्माण गर्ने लक्ष्य लिएको छ । स्मार्ट–सिटी निर्माणपछि उपत्यकालगायत अन्य सहरहरूको अव्यवस्थित बसोबास व्यवस्थित बन्ने विश्वास प्राधिकरणले व्यक्त गरेको छ । 

यी स्मार्ट–सिटीहरू पूर्वाधारले भरिपूर्ण हुनेछन् भने डीपीआर निर्माणपछि कस्तो सडक र अन्य पूर्वाधार बन्नेछ भन्ने टुङ्गो लाग्नेछ ।


Back_to_top