काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विभिन्न ब्राण्डको प्रतिस्पर्धा तीव्र बन्दै जाँदा केही ठूला व्यापारिक घरानाले ठूलो संख्यामा अन्तर्राष्ट्रिय अटो ब्राण्डको कारोबार सम्हालिरहेका छन् ।
नेपालमा बिक्री हुने विभिन्न कार, एसयूभी, विद्युतीय गाडी, मोटरसाइकल तथा कमर्सियल भेहिकल ब्राण्डमध्ये करिब ३० ब्राण्ड पाँच प्रमुख व्यापारिक घरानाको व्यवसायिक छाता मुनि रहेका हुन् ।
नेपालको अटो बजारमा लक्ष्मी ग्रुप, एमएडब्लू ग्रुप, सारडा ग्रुप, गोल्छा अर्गनाइजेशन र विशाल ग्रुपको उपस्थिति उल्लेख्य छ । यी समूहले परम्परागत पेट्रोल-डिजेल गाडीदेखि विद्युतीय सवारीसम्मका विभिन्न ब्राण्डलाई नेपाली बजारमा बिक्री तथा वितरण गर्दै आएका छन् ।
लक्ष्मी ग्रुप : ६ ब्राण्ड
लक्ष्मी ग्रुप नेपाली अटोमोबाइल क्षेत्रमा लामो समयदेखि सक्रिय व्यापारिक समूह हो । यस समूहअन्तर्गत हुन्डाई, बीएआईसी, बीएमडब्लू, जेटोर, केई र एसएमएल इसुजु जस्ता ब्राण्डको कारोबार हुँदै आएको छ।

विशेषगरी हुन्डाई नेपाली बजारमा स्थापित प्रमुख ब्राण्डमध्ये एक हो। पछिल्लो समय विद्युतीय गाडीको बजार विस्तारसँगै हुन्डाईका ईभी मोडलले पनि बजारमा आफ्नो उपस्थिति बढाइरहेका छन् । यससँगै प्रिमियम सेगमेन्टमा बीएमडब्लू र कमर्सियल तथा एसयूभी सेगमेन्टमा अन्य ब्राण्डले समूहको पोर्टफोलियो फराकिलो बनाएका छन्।
एमएडब्लू ग्रुप : ७ ब्राण्ड
अटोमोबाइल क्षेत्रमा आक्रामक विस्तार गरिरहेको एमएडब्लू ग्रुपसँग पनि विभिन्न सेगमेन्टका ७ ब्राण्ड छन् । समूहले यामाहा, स्कोडा, जीप, दीपल, नेभो, नामी र आइसरको कारोबार गर्दै आएको छ ।

दुईपाँग्रे बजारमा यामाहा, प्रिमियम तथा एसयूभी सेगमेन्टमा जीप र स्कोडा तथा विद्युतीय सवारीतर्फ दीपल र नामीमार्फत एमएडब्लूको उपस्थिति बलियो बन्दै गएको छ। आइसरमार्फत कमर्सियल भेहिकल बजारमा समेत समूह सक्रिय छ।
शारडा ग्रुप : ५ ब्राण्ड
शारडा ग्रुपले नेपाली अटो बजारमा जापानी, चिनियाँ तथा नयाँ पुस्ताका विद्युतीय ब्राण्डलाई एउटै पोर्टफोलियोमा अघि बढाएको छ । समूहसँग निसान, ओमोडा, जेको, आइकार र चेरी जस्ता ब्राण्ड छन् ।

विशेषगरी चिनियाँ ब्राण्डको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै ओमोडा, जेको, आइकार र चेरीमार्फत शारडा ग्रुपले एसयूभी तथा ईभी बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको छ ।
गोल्छा अर्गनाइजेशन : ५ ब्राण्ड
नेपालका पुराना र ठूला व्यापारिक समूहमा पर्ने गोल्छा अर्गनाइजेशन पनि अटो क्षेत्रमा विविध ब्राण्डसहित सक्रिय छ । समूहअन्तर्गत सिट्रोन, प्यूजो, लिपमोटर, फोर्ड र जीएसडब्लू एमजी रहेका छन् ।

फ्रेन्च ब्राण्ड सिट्रोन र प्यूजोदेखि अमेरिकी फोर्ड तथा चिनियाँ विद्युतीय ब्राण्ड लिपमोटरसम्मको उपस्थितिले गोल्छाको अटो पोर्टफोलियो फराकिलो बनाएको छ ।
विशाल ग्रुप : ६ ब्राण्ड
विशाल ग्रुपले पनि नेपाली अटो बजारमा ६ वटा ब्राण्ड सम्हालिरहेको छ । समूहअन्तर्गत एमजी, जीडब्लूएम, सुजुकी मोटरसाइकल, फक्सवागेन, माज्दा र होङछी रहेका छन् ।
एमजी र जीडब्लूएममार्फत ईभी तथा एसयूभी बजारमा समूहको उपस्थिति छ भने सुजुकी मोटरसाइकलले दुईपांग्रे बजारमा बलियो स्थान बनाएको छ । फक्सवागेन, माज्दा र होङछीले क्रमशः विभिन्न प्रिमियम तथा यात्रुवाहक सवारी सेगमेन्टलाई समेट्छन् ।

प्रतिस्पर्धासँगै बढ्दो प्रभाव
नेपालको अटो बजार विद्युतीय सवारीतर्फ तीव्र गतिमा रूपान्तरण भइरहेका बेला यी व्यापारिक घरानाहरू बीचको प्रतिस्पर्धा पनि थप रोचक बन्दै गएको छ । एउटै समूहले फरक-फरक मूल्य र सेगमेन्टका ब्राण्ड बिक्री गर्दा ग्राहकका लागि विकल्प बढेका छन् ।
विशेषगरी चिनियाँ ईभी ब्राण्डको प्रवेश तीव्र भएपछि पुराना स्थापित ब्राण्डसँगै नयाँ ब्राण्डलाई बजारमा स्थापित गर्ने प्रतिस्पर्धा बढेको छ । यसले नेपाली अटो बजारमा ब्राण्डको प्रतिस्पर्धासँगै व्यापारिक घरानाबीचको प्रतिस्पर्धालाई पनि थप बलियो बनाएको छ ।
यसरी हेर्दा नेपाली अटोमोबाइल बजारमा केही सीमित ठूला व्यापारिक समूहको प्रभाव उल्लेख्य देखिन्छ । उनीहरूले सम्हालेका ब्राण्डको संख्या र विविधता हेर्दा आगामी दिनमा नेपाली अटो बजारको प्रतिस्पर्धामा यी समूहको रणनीति अझ महत्वपूर्ण हुने देखिन्छ ।

