प्यासेन्जर कारमा महिन्द्रा पहिलो हुँदा मारुती र हुन्डाई कहाँ, यस्तो छ बजार हिस्सा

काठमाडौं । नेपालमा कार उपभोक्ताको संख्या बढ्दै गइरहेको छ । नेपालमा युरोपेली, अमेरिकीदेखि चिनियाँ हुँदै भारतीय कम्पनीसम्मका कार उपलब्ध रहेका छन् । कम्पनीहरुबीच कार बिक्रीमा निक्कै प्रतिस्पर्धा रहेको छ । 

प्यासेन्जर कार सेगमेन्टमा नेपाली बजारमा महिन्द्रा, मारुती सुजुकी, हुन्डाई, टाटा, फोर्डलगायत कम्पनीबीच तिब्र प्रतिस्पर्धा रहेको छ । २०७५ साउनदेखि २०७६ बैशाखसम्मको १० महिनाको अवधिमा नेपाली बजारमा उपलब्ध कारमा सबैभन्दा धेरै महिन्द्राले बिक्री गरेको छ । 

यो अवधिमा महिन्द्राका ५ हजार ४ वटा कार बिक्री भएको हो । प्यासेन्जर कार सेगमेन्टमा महिन्द्राको बजार हिस्सा २८ प्रतिशत देखिएको छ । यो तथ्यांकमा महिन्द्राको बोलेरो डलब क्याव पिकपसमेत समावेश छ । 

दोस्रो स्थानमा मारुती सुजुकी रहेको छ, १० महिनामा मारुतीका ३ हजार ८ सय ८३ वटा प्यासेन्जर कार बिक्री भएको छ । प्यासेन्जर कारमा मारुतीको बजार हिस्सा २१ प्रतिशत रहको छ । यो तथ्यांकमा कार्गो भ्यान र एलसीभी सेगमेन्टका सवारी भने समावेश गरिएको छैन । 

मारुती सुजुकीलाई पछ्याएको हुन्डाई तेस्रो स्थानमा रहेको छ । १८ प्रतिशत बजार हिस्सा रहेको हुन्डाईका कार १० महिनामा ३ हजार २ सय ५५ वटा बिक्री भएको भन्सारको तथ्यांक छ । 

नेपाली बजारमा धेरै बिक्री हुने प्यासेन्जर कारको सूचीको चौथो स्थानमा टाटा रहेको छ । १० महिनामा १ हजार ९ सय ५९ कार बिक्री गरेको टाटाको बजार हिस्सा ११ प्रतिशत रहेको छ । टाटा पछि धेरै बिक्री हुने प्यासेन्जर कारमा फोर्ड रहेको छ । पाँचौ स्थानमा रहेको फोर्डले ८ सय ९१ वटा कार बिक्री गर्दा बजार हिस्सा ५ प्रतिशत ओगटेको छ । 

त्यस्तै प्यासेन्जर कारमा छैटौं स्थानमा रेनो रहेको छ, जसको कार ४ सय ७९ वटा बिक्री भएको छ । रेनोको बजार हिस्सा ३ प्रतिशत हुँदा ड्याटसनको बजार हिस्सा २ प्रतिशत रहेको छ । १० महिनामा ड्याटसनले ४ सय ५२ वटा कार बिक्री भएको तथ्यांक छ । 

ड्याटसन पछि निसान, टोयोटा र इसुजुको बजार हिस्सा समान २ प्रतिशत रहेको छ । २०७५ साउनदेखि ०७६ बैशाखसम्ममा निसानले ४ सय ४९, टोयोटाले ४ सय ४१ र इसुजुले ४ सय ३५ वटा प्यासेन्जर कार बिक्री गरेका छन् । 

फक्सवागनले १० महिनामा २ सय ३१ वटा कार बिक्री गर्दा अमेरिकी ब्रान्ड जीपले १ सय ४६ वटा कार बिक्री गरेको छ । 

नेपाली बजारमा ३० वटा ब्रान्डका कार बिक्री हुँदै आएको तथ्यांक छ । अन्य ब्रान्डका १८ वटा रहेका छन् जसको बजार हिस्सा ३ प्रतिशत रहेको छ । १० महिनामा नेपाली बजारमा ५ सय ९५ वटा अन्य ब्रान्डका कार बिक्री भएको तथ्यांक भन्सार विभागकोे छ । 


Back_to_top