२ लाख ९८ हजार डाउन पेमेन्टमै नयाँ कार, यस्ता छन् फिचर

काठमाडौं । सरकारले इलेक्ट्रीक सवारीसाधन प्रयोगलाई प्रोत्साहन गर्ने नीति बनाएसँगै इलेक्ट्रीक गाडी आयात बढ्दो क्रममा रहेको छ । केन्द्रिय बैंकले सवारीसाधन कर्जामा कडाई गरेसँगै इलेक्ट्रीक सवारी साधनको आयात बढेको हो । 

हालै दिगाे ग्रुपले ल्याएको चिनीयाँ ब्रान्ड ‘दाय इभी’ २ लाख ९८ हजार डाउन पेमेन्टमा नै खरिद गर्न सकिने भएको छ । इलेक्ट्रीक सवारीसाधनमा २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरे पुग्ने छ । कम्पनीले लोनको लागि लक्ष्मी बैंक र एनएमबी बैंकसँग सहकार्य गरेको जनाएको छ । 

चीनमा उत्पादन भएका दाय ब्रान्डका इभी नेपाली बजारमा दुई ब्याट्री लिड एसिड र लिथीयम आयन ब्याट्रीका साथ आएको छ । लिड एसिड ब्याट्री जडित कारको सुरुवाती मूल्य १३ लाख ९० हजार रुपैयाँ रहेको छ भने, लिथीयम आयन ब्याट्रीयुक्त गाडीको मूल्य १५ लाख ९० हजार रुपैयाँ तोकिएको छ । संभवत यो नै नेपाली बजारमा पाईने सबैभन्दा सस्तो इलेक्ट्रीक कार हो । 

अधिकतम गति ६० किलोमिटर प्रतिघन्टा रहेको आएको यो कारले १ सय देखि १ सय ५० किलोमिटरसम्म माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा दिइएको लिड एसिड ब्याट्रीले एक पटकको फुल चार्जमा १०० देखि १ सय २० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ भने, लिथीयम आयन ब्याट्रीले १ सय २० देखि १ सय ५० किलोमिटरसम्म माइलेज दिने कम्पनीले दाबी गरेको छ । 

यसमा दिइएको लिड एसिड ब्याट्रीलाई घरको सामान्य एसी चार्जरबाट चार्ज गर्दा  ८ देखि  १० घन्टा लाग्नेछ भने, लिथीयम आयन ब्याट्री चार्ज गर्न ४ देखि ५ घन्टा लाग्ने कम्पनीले जानकारी दिएको छ । 

दश किलोवाट पिक पावरको मोटर प्रयोग गरिएको यो कार हेर्दा कम्बस्चन इन्जिन यूक्त कार जस्तै रहेको छ । कारको लम्बाई ३३५० एमएम, चौडाई १५९० एमएम र उचाई १४९० एमएम रहेको छ । गाडीको ह्वीलवेस भने २१७० एमएम रहेको छ । 

साथै, गाडिमा मनोरञ्जनका लागि ८ इन्चको इन्फोटेनमेन्ट सिस्टम दिइएको छ भने, पावर विन्डो, पावर स्टेरिङ्ग, फगल्याम्प, हिटर, एसी, रिमोट कन्ट्रोल लक, रिभर्स पार्किङ्ग क्यामेरा, अलोय ह्वीलजस्ता अत्याधुनिक फिचरहरु रहेका छन् ।

चालकसहित ५ जनाले आरामदायी यात्रा गर्न सक्ने उक्त गाडीको प्रविधिक परिक्षण पछि यातायात व्यवस्था विभागले दर्ता गर्ने व्यवस्था गरिसकेको छ । 

यो कारको अहिले कम्पनीले टेष्ट ड्राइभ गरिरहेको जनाएको छ । 


Back_to_top