नयाँ डिजाइनमा सार्वजनिक भयो होन्डाको मिनि बाइक

काठमाडौं । होन्डाले आफ्नो मिनि बाइक ग्रोम १२५ को २०२१ मोडल सार्वजनिक गरेको छ । सन् २०१४ मा पहिलो पटक बजारमा ल्याएको यो लाइफ स्टाइल प्रोडक्टलाई परिमार्जन सहित कम्पनीले अन्तर्राष्ट्रिय बजारमा उतारेको हो ।

होन्डाले ग्रोम १२५ लाई अहिलेसम्म नेपाली बजारमा भने विक्री गरेको छैन । चलाउन निकै सहज र फरक लुक्समा देखिने ग्रोमको २०२१ मोडललाई अहिले जापानी र अमेरिकी बजारबाट विक्री सुरु गरिएको हो । भारतमा पनि केही महिना अघि यसको प्याटेन्ट दर्ता भएको छ । भारतमा उत्पादन सुरु भएपछि भने ग्रोम १२५ नेपाली बजारमा पनि आउन सक्ने छ ।

करिब ६ वर्षपछि कम्पनीले यसमा ठूलो परिमार्जन गरेर ल्याएको कारण पनि अहिले ग्रोम १२५ निकै चर्चामा रहेको छ । यूरो ५ मापदण्डको १२५ सीसी क्षमताको एयर कुल्ड इन्जिनमा अहिले ५ स्पीड क्षमताको गियरबक्स दिइएको छ । यसअघि यहि इन्जिनमा ४ स्पीड गियरबक्स उपलब्ध रहेको थियो ।

यसको टप स्पीड क्षमता पनि केही बढाइएको छ । यसअघि ९१ किलोमिटर प्रतिघन्टाको उच्चगति क्षमता भएको यो मोटरसाइकलले अबभने ९३ किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन सक्ने छ ।

यसमा भएको सबैभन्दा ठूलो परिमार्जन यसको स्टाइल र बडी डिजाइन हो । नियो रेट्रो डिजाइनबाट प्रेरित रहेको नयाँ मिनि बाइकमा डिजिटल एलसीडी इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ ।

अहिलेसम्म विश्वभर ७ लाख ५० हजार यूनिटभन्दा धेरै विक्री वितरण भइसकेको ग्रोम विश्वका धेरै देशमा विक्री वितरण हुँदै आएको छ ।


Back_to_top