काठमाडौं । भारतमा उत्पादन भएको बिएमडब्ल्यू ‘जी ३१० आर र जी ३१० जीएस’को बीएस ६ भर्सनको मूल्य घटाएको छ । कम्पनीले हालै यी दुबै मोटरसाइकलको मूल्य ६० हजार भारुसम्मले घटाएको हो ।
बिएमडब्ल्यूले यी दुबै मोडलको बीएस ६ भर्सन २०२० को अन्त्यमा सार्वजनिक गरेको थियो । कम्पनीले यी दुबै मोटरसाइकलमा केही ग्राफिक र इन्जिनमा परिमार्जन गरेको थियो ।
भारतीय बजारमा उत्साहजनक विक्री पाउन नसकेको कम्पनीले मूल्य घटाएसँगै राम्रो विक्री पाइरहेको बताइन्छ । भारतमा मार्च र अप्रिल २०२१ को विक्री तथ्यांकमा यी दुबै मोटरसाइकलले एक महिनामा ३०० यूनिटको आंकडा पार गर्न सकेका थिएनन् ।
नेपालमा बिएमडब्ल्यूका मोटरसाइकल ९ लाख ७५ हजारदेखि ११ लाख २५ हजारसम्म मूल्य निर्धारण गरेर विक्री हुँदै आएको छ ।
कम्पनी मार्च महिनामा २३० यूनिट र अप्रिल महिनामा २८६ यूनिट मात्र विक्री गर्न सकेको थियो । कमजोर विक्रीको कारण कम्पनीले जी ३१० आरको मूल्य ५५ हजार र जी ३१० जीएसको मूल्य ६० हजार भारुले घटाएको हो । जुन रकम ८८ हजार देखि ९६ हजार नेपाली रुपैयाँसम्म हो ।
नेपालीलाई हुँदैन त्यसको फाइदा
भारतमा प्रमोशनल क्याम्पेनको रुपमा आएको यो स्कीमले नेपाली ग्राहकको लागि कुनै फाइदा दिदैन । नेपाली बजारमा हिमालयन मोटोरार्ड कम्पनीले यसको विक्री गर्दै आएको छ । कम्पनी स्रोतका अनुसार यो स्कीम भारतीय ग्राहकले मात्र पाउने छन् । अन्तराष्ट्रिय बजारका लागि भने यो स्कीम उपलब्ध नहुने कम्पनीले जनाएको छ ।
‘हामी कहाँ त मूल्य बढ्छ । असार अन्तिमसम्ममा बीएस ६ इन्जिनमा बिएमडब्ल्यूका दुबै मोटरसाइकल नेपाल आउने छन् । तर, हामीले अहिले भन्दा धेरै रकम तिर्नु पर्छ । त्यसले स्वभाविक रुपमा मूल्य बढ्छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
यस्तो परिमार्जन
बीएस ६ भर्सनमा ब्लु र ब्ल्याक सेडमा रातो कलरको फिनिसिङ दिएको छ । यसका अलावा यी मोटरसाइकलमा राइड वाइ वायर थ्रोटल नयाँ फिचर थप गरेको छ । जी ३१० जीएसमा ट्याक्सन कन्ट्रोल तथा अटोमेटीक स्टेवलीटी कन्ट्रोल जस्ता प्रिमियम फिचर थप भएर आएको छ ।
यी दुबै मोटरसाइकलमा समान ३१२.२ सीसी, सिंगल सिलिन्डर, एफआई, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ३४ पीएस पावर तथा २८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियर बक्स रहेको छ ।


