आयो ‘एयर ब्याग’ भएको विश्वकै पहिलो स्कुटर

काठमाडौं । जापानीज मोटरसाइकल तथा स्कुटर निर्माता यामाहाले एयर ब्याग सुरक्षा फिचर प्रयोग भएको पहिलो स्कुटर सार्वजनिक गरेको छ ।

यामाहाले आफ्नो ट्रिसिटी ३०० स्कुटरमा पहिलो पटक एयर ब्याग सिस्टम प्रयोग गरेर लन्च गरेको हो । कुनै पनि ब्राण्डले स्कुटरमा एयर ब्याग फिचर राखेको यो विश्वमै पहिलोपटक हो ।

यामाहा ट्रिसिटी ३०० स्कुटर नयाँ मोडल भने होइन । यो धेरै समयदेखि जापानसँगै अन्य अन्तर्राष्ट्रिय बजारहरूमा बिक्री भइरहेको स्कुटर हो । कम्पनीले ट्रिसिटी ३०० स्कुटरको २०२६ अपडेटेड नयाँ भर्सनमा यो प्रविधि प्रयोग गरेर बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार ट्रिसिटी ३०० स्कुटर नयाँ भर्सनको बिक्री भने २०२६ को दोस्रो त्रैमासबाट सुरू हुने बताएको छ ।

कम्पनीले हालका लागि ट्रिसिटी ३०० स्कुटरको नयाँ भर्सन युरोपियन बजारका लागि मात्रै लन्च गरेको हो । भविष्यमा अन्य अन्तर्राष्ट्रिय बजारहरूमा पनि उपलब्ध हुने बताइएको छ । यामाहाले ३०० सीसी सेग्मेन्टको स्कुटरबाट एयरब्याग सिस्टमको सुरूआत गरेको हो । पछि अन्य साना मोडलहरूमा पनि यो प्रणाली अपनाउने जनाएको छ ।

यामाहा ट्रिसिटी ३०० अन्य साधारण स्कुटरभन्दा फरक डिजाइनमा छ । यो तीन पाङ्ग्रे संरचना भएको मोडल हो । यसमा तीन ओटा टायर दिइएको छ । ट्रिसिटी ३०० ले साधारण स्कुटरको तुलनामा बढी सुरक्षा र स्थिरता प्रदान गर्ने दाबी गरिएको छ। नयाँ भर्सनमा गरिएको सुधारहरूले यसलाई अझ आधुनिक र प्रयोगकर्तामैत्री बनाएको कम्पनीको दाबी छ।

यसको सबैभन्दा महत्वपूर्ण भाग भनेको यसमा प्रयोग गरिएको एड्भान्स किसिमको एयरब्याग प्रणाली हो । यामाहाले यो प्रणाली अटोलिभ कम्पनीसँगको सहकार्यमा निर्माण गरेको हो। यसअघि दुईपाङ्ग्रे साधनमा यस्तो सुविधा केवल होण्डा गोल्डविङ मोटरसाइकलमा मात्र देखिएको थियो।

यामाहाको ट्रिसिटी ३०० स्कुटरमा एयरब्याग फ्रन्ट साइडमा सेटअप गरिएको छ । उक्त एयरब्याग प्रणालीले दुर्घटनाको अवस्थामा चालकलाई अगाडि फालिनबाट जोगाउने काम गर्छ। दुर्घटनाको क्रममा एयरब्याग जीफोर्स सेन्सरमार्फत सक्रिय हुन्छ। अचानक ब्रेक वा ठक्करको पहिचान गरी यसले ककपिटमा रहेको एयरब्याग खोल्ने काम सहजै गर्छ ।

यसका अलावा स्कुटरमा ४.२ इन्चको टीएफटी डिस्प्ले र २.८ इन्चको एलसीडी ड्यास, कनेक्ट सिस्टम, नेभिगेसन, ब्रेक र टायर कन्ट्रोलका लागि बीसी र यूबीएस सिस्टम, अटोमेटिक भीबेल्ट ट्रान्समिसन, नयाँ क्याटालिटिक कन्भर्टर लगायतका एड्भान्स फिचरहरू छन् ।

ट्रिसिटी ३०० मा २९२ सीसीको सिंगल सिलिण्डर, लिक्विड कुल्ड इन्जिन छ । यो इन्जिनले अधिकतम २८ पीएस पावर तथा २८.९ एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top