काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले दर्ता नगरि चलाइएका इलेक्ट्रीक स्कुटर बाटोमा गुडाएको पाइएमा कारवाही गर्ने भएको छ । मंसिर १५ गतेदेखि यातायात कार्यालयमा दर्ता नभएका कुनै पनि इलेक्ट्रीक सवारीसाधन सडकमा चलाए कारवाही गर्ने भएको हो ।
ट्राफिक प्रहरीले यहि मंसिर १५ गतेदेखि स्कूटर तथा मोटरसाइकलले दर्ता गरेर मात्र सडकमा गुडाउन पाईने बताएको छ।
ट्राफिक प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कुनै पनि इलेक्ट्रीक स्कुटर, मोटरसाइकललगायतका सवारीसाधनहरू समेत अनिवार्य रूपमा दर्ता हुनुपर्ने प्रावधान रहेको बताए ।
‘विद्युतीय स्कुटर, मोटरसाइकललगायतका सवारीसाधनहरू समेतअनिवार्यरूपमा दर्ता हुनुपर्ने प्रावधान रहे पनि धेरैजसो दर्ताबिना नै सञ्चालनमा ल्याएको पाइएको छ। त्यस्ता सवारीसाधन बिनादर्ता सञ्चालनमा ल्याए कारबाही गरिनेछ,’ उनले भने। नम्वर प्लेट नलिई, हेलमेट नलगाई इलेक्ट्रीक स्कुटहरु चलाएको पाइएमा कारबाही गरिने उनले बताए ।
यसका साथै तीव्र गतिमा सवारीसाधन चलाउनेलाई मङ्सिर १५ गतेबाट ट्राफिक नियमअनुसार कारबाही गर्नुका साथै एक घण्टाको ट्राफिक सचेतना कक्षा लिनुपर्ने नियम लागू गरेको छ।


