काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी महिन्द्रा एण्ड महिन्द्रा आफ्ना चर्चित तीन एसयूभीहरू ठूलो अपग्रडसहित बजारमा ल्याउने भएको छ ।
कम्पनीले थार, स्कर्पियो र एक्सयूभी ७०० एसयूभीहरू अपडेट गरेर बजारमा ल्याउने भएको हो । कम्पनीले यी तिनै एसयूभीको अपग्रेड योजना अघि समेत बढाइसेकेको छ ।
कम्पनीले भारतीय बजारमा आफ्नो पकड कायमै राख्न मुख्य एसयूभी मोडेलहरूमै थप लगानी बढाइरहेको हो । कम्पनीले आफ्ना एसयूभीहरू ईभीमा समेत ल्याउने दीर्घकालीन रणनीतिक योजना बनाएको छ ।
कम्पनीले हालै नयाँ ईभी एक्सईभी नाइन एस सार्वजनिक गरेको छ । यस ईभीले एक्सयूभी ७०० को परिचित डिजाइन ल्वाङग्वेजलाई अगाडि बढाएको देखिन्न्छ । त्यसअघि कम्पनीले एक्सईभी नाइन ई र बीई सिक्स ईभी बजारमा ल्याएको थियो ।
कम्पनीले आइसी सेग्मेन्टमा एक्सयूभी ७०० लाई अपग्रेड गर्दै फेसलिफ्ट मोडल ल्याउने भएको छ । कम्पनीले एक्सयूभी ७०० को फेसलिफ्ट मोडल एक्सयूभी ७ एक्सओ नामबाट बजारमा ल्याउने भएको हो ।
अर्को महिनादेखि आधिकारिक बिक्री सुरु हुन यो एसयूभीको बुकिङ समेत खुलाइसकेका छ । यसको साइज यथावत राखिए पनि बाहिरी डिजाइनमा केही महत्वपूर्ण परिवर्तन गरिने छ। इन्टेरियरमा सबैभन्दा ठूलो परिवर्तन देखिने छ। यसमा एक्स ईभी नाइन एस जस्तै ठूलो ट्रिपल स्क्रिन सेटअप सहितको पूर्ण रूपमा नयाँ ड्यासबोर्ड रहने छ । साथै, नयाँ क्याबिन थिम, अपग्रेड गरिएको ट्रिम, गुणस्तरी सामाग्री र थप नयाँ फिचरहरू उपलब्ध हुने छन्।

महिन्द्राको लाइफ स्टाइल एसयूभी थार पनि अब विद्युतीयमा आउने भएको छ । कम्पनीले भिजन टी कन्सेप्ट सार्वजनिक गर्दै पाँच ढोके थार रोक्सको ईभी संस्करणको झलक दिएको छ । यसमा बाकस जस्तो डिजाइन र ठाडो स्टान्स कायम राख्दै फ्युचरिष्टिक ईभी डिजाइन थपिएको छ ।
थार ईभी एनयू-आइक्यू आर्किटेक्चरमा आधारित हुने सम्भावना छ । यसमा विभिन्न ब्याट्री प्याक विकल्प र फोर ह्वील ड्राइभका लागि डुअल मोटर सेटअप उपलब्ध हुने अपेक्षा गरिएको छ ।
महिन्द्राले स्कर्पियो लाइनअप पनि ठूलो परिवर्तनको तयारी गरेको छ । कम्पनीले भिजन एस कन्सेप्ट सार्वजनिक गर्दै अझ प्रिमियम तर सानो आकारको स्कर्पियो एन ल्याउने संकेत दिएको छ ।
नयाँ पुस्ताको स्कर्पियो एनयू-आइक्यू प्लेटफर्ममा आधारित हुनेछ। परीक्षणका क्रममा धेरै पटक देखिए पनि यो कम्प्याक्ट स्कर्पियो २०२६ को अन्त्य वा २०२७ को सुरुवाततिर मात्र बजारमा आउने अपेक्षा गरिएको छ ।

