काठमाडौं । चीनले अटोमोबाइल क्षेत्रको नियमन थप कडाइका साथ गर्ने भएको छ । सरकारले सन् २०२६ जनवरी १ देखि चीनमा दर्ता भएका गाडीको निर्यातमा कडाइ गर्न लागेको हो ।
यसअघि जतिसुकै पुरानो अवस्थाको रिकन्डिसन कार निर्यात गर्न सकिन्थ्यो । अब भने चीन सरकारले उत्पादनको १८० दिन (६ महिना) भित्रै निर्यात गर्नुपर्ने नियम लगाएको हो । यसले पुराना कारको निर्यातलाई नियन्त्रण गर्ने सरकारी अधिकारीहरूले विश्वास लिएका छन् ।
सरकारले उत्पादनमा आधारित अनुदानमा दिँदै आएको कारण चिनियाँ कार निर्माताहरूले बजार मागभन्दा बढी गाडी उत्पादन गर्दै आएका थिए । हरेक कार निर्माताले आफ्नो छुट्टै बिक्री गर्ने कम्पनी बनाउने, भाडाको गाडी चलाउने कम्पनी बनाउने र उत्पादनपछि बिक्री नभएका गाडी तीनै कम्पनीमा राख्ने र निर्यात समेत गर्दै आएका थिए ।
चिनियाँ कार उत्पादकले ठूलो परिमाणमा कार ‘डम्प’ गरेको रिपोर्टहरू बाहिर आएका थिए । सन् २०२४ मा ठूलो संख्यामा शून्य किलोमिटर गुडेका कारहरू पनि रिकन्डिसन बजारमा आएको खबरले चर्चा पायो । त्यसपछि चीन सरकारले यसलाई नियन्त्रण गर्ने योजना बनाएको हो ।
चिनियाँ उद्योग मन्त्रालयका अनुसार शून्य किलोमिटर प्रयोग भएका कारको कारोबार चीनमा वार्षिक १० लाख युनिटभन्दा माथि रहेको छ । जुन चीनको रिकन्डिसन बजारको ५ प्रतिशत बराबर हो ।
उत्पादकले दर्ता गरेर थन्काएका शून्य किलोमिटर गुडेका कारहरू चीनको रिकन्डिसन बजारमा बिक्री हुँदै मात्र आएका छैनन् । ठूलो संख्यामा निर्यातसमेत हुँदै आएको तथ्यांक बाहिर आएको छ ।
चीनको उद्योग मन्त्रालयका अनुसार सन् २०२१ मा १५ हजार युनिट शून्य किलोमिटर गुडेका रिकन्डिसन कार निर्यात भएको थियो । त्यसको दुई वर्षपछि सन् २०२४ मा ४ लाख ३६ हजार युनिट यस्ता कार निर्यात भएका थिए । सन् २०२५ मा त्यो बढेर ५ लाख युनिट माथि पुग्ने अनुमान गरिएको छ । यसरी निर्यात भएका कार नयाँ गाडी जस्तै शून्य किलोमिटरमै उपलब्ध हुने छन् ।
सरकारले उत्पादन भएको मितिले १८० दिनभन्दा बढीका पुरानो गाडीलाई निर्यातमा रोक लगाएसँगै उत्पादकहरूलाई थप दबाब पर्ने देखिन्छ । सरकारी अधिकारीहरूका अनुसार पुराना गाडी पठाउँदा बिक्रीपछिको सेवा, मर्मत सम्भार, सफ्टवेयरको कार्यक्षमता तथा ब्याट्रीका विषयमा गुनासो आइरहेका थिए । त्यसैले सरकारले निर्यातमा कठोर निर्णय लिएको हो ।
अझ रोचक कुरा के छ भने चीन सरकारले १८० दिन भित्रका रिकन्डिसन गाडी निर्यात गर्न दिए पनि बिक्रीपछिको सेवाको ग्यारेन्टी निर्यातकर्ताले नै गर्नु पर्नेछ । जसले अन्तर्राष्ट्रिय बजारमा चिनियाँ गाडीको विश्वास बलियो बन्दै जाओस् ।

