काठमाडौं । मुग्लिङ-पोखरा सडक अन्तर्गत पश्चिमखण्ड (जामुने-पोखरा) सडक विस्तारको कामले तीव्रता पाएको छ । यसअघि सुस्त रहेको ३८.८ किलोमिटर लामो यस सडकको कामले हिउँद लागेसँगै गति लिएको हो ।
मुग्लिन-पोखर सडक आयोजना (पश्चिमखण्ड)का अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ६९.९६ प्रतिशत र वित्तीय प्रगति ६५.२६ प्रतिशत पुगेको छ ।
यस सडक खण्डको हालसम्म पुल बाहेक कुल ३८ किमी खण्डमा प्रथम तहको कालोपत्र गर्ने काम सकिएको प्रमुख इन्जिनीयर कृष्णबहादुर कुँवरले जानकारी दिए ।
उनका अनुसार ३३.२ किमी खण्डमा दुई तर्फी कालोपत्र (चार लेन) र ४.८ किमी खण्डमा (दुई लेन) एकतर्फी कालोपत्र गरिसकिएको छ । त्यस्तै, कुल ५१.३ किमी दुई लेन सडकमा दोस्रो तहको कालोपत्र सम्पन्न भएको उनले बताए । सर्भिस लेनतर्फ ५ किमी कालोपत्र भएको छ ।
त्यस्तै, पश्चिम खण्डमा निर्माण हुने १२ वटा पुल मध्ये ११ वटा सम्पन्न भएको छ । पश्चिमखण्डको सेती नदी पुल निर्माण मात्रै बाँकी छ । उक्त पुल निर्माण तीव्र गतिमा भइरहेको छ । आधा बढी काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
त्यस्तै, यसखण्डमा पर्ने १०५ वटै कल्भर्ट निर्माण सम्पन्न भइसकेको छ । पश्चिम खण्डको कामले गति लिए पनि फेरि पनि थपिएको म्यादमा सम्पन्न नहुने देखिएको छ । दोस्रोपटक थपिएको म्याद यही पुस मसान्तमा सकिँदै छ ।
यो खण्डको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पाएको छ । पछिल्लो पटक थपिएको म्याद अनुसार २०८२ पुससम्म काम सक्नुपर्नेछ ।
पूर्वी खण्डको कालोपत्र लगायत भने मुख्य काम सकिएको छ । यस खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा पाएको थियो ।
वि.सं. २०२६ मा रेखांकन भएको मुग्लिन-पोखरा ८० किमी सडकमा सवारी साधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो ।

