केही दिन भित्रै नेपाल आउन लागेका तीन कार (मूल्यसहित)

काठमाडौं । अस्गट महिनामा नेपाली बजारमा तीन नयाँ मोडलका कारहरु बजारमा आउने छन् । जसमा टोयोटा, रेनो र स्कोडाले आफ्नो नयाँ कार बजारमा उतार्ने तयारी गरेका हुन् । यी तीनवटै कारको मूल्य बाहिर आइसकेको छ ।

लकडाउनका कारण यसअघि नै तयारी भएरपनि नेपाल आउन नसकेका कारहरु अब धमाधम नेपाल आउने भएका हुन् ।

टोयोटाले आफ्नो चर्चित मोडल कोरोलाको क्रसओभर एसयूभी ‘कोरोला क्रस’ नेपाल ल्याउने भएको हो । कम्पनीले नयाँ कोरोला क्रसको मूल्य यसअघि नै प्रकाशन गरिसकेको छ ।

यूनाईटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नेपाल ल्याउने कोरोला क्रसको इन्ट्री लेवल भेरियन्टको मूल्य १ करोड १२ लाख र कोरोला क्रस हाई भेरियन्टको मूल्य १ करोड ३३ लाख रुपैयाँ तोकिएको छ ।

हाइब्रिड टेक्नोलोजीमा आउने यो क्रसओभर एसयूभी टोयोटा रस एसयूभीभन्दा माथिको मोडल हो । कोरोला क्रसमा १.८ लिटरको फोर सिलिण्डर पेट्रोल रेगुलर तथा १.८ लिटर कै पेट्रोल हाइब्रिड इन्जिनमा उपलब्ध रहेको छ । जसले क्रमशः १४० तथा १२२ एचपीको पावरका साथै १७५ एनएम टर्क जेनरेट गर्छ ।

अर्को मूल्य प्रकाशित गरिसकेको कार स्कोडा र्‍यापीड टिएसआई हो । यसलाई एमएडब्ल्यू इन्टरप्राइजेजले नेपाल ल्याएको हो । र्‍यापीड एक्टीभ राइडरको मूल्य ३४ लाख ९० हजार, राइडर प्लसको मूल्य ३६ लाख ९० हजार, एम्बीएन्टको मूल्य ४३ लाख ९० हजार, स्टाइल भेरियन्टको मूल्य ५० लाख ९० हजार, ओनेक्स भेरियन्टको ४४ लाख ९० हजार र मोन्टेकार्लो भेरियन्टको मूल्य ५१ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

यसमा रहेको १.० लिटर टिएसआई इन्जिनले १०८ बीएच पावर र १७५ एनएम टर्क प्रदान गर्ने छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । नयाँ र्‍यापीड पेट्रोल इन्जिनमा मात्रै उपलब्ध हुने छ ।

त्यस्तै अहिले बजारमा बुकिङ सुरु भएको अर्को कार हो रेनो क्वीड । फेसलिफ्ट क्वीड बीएस ६ इन्जिनसहित नेपाल आउन लागेको हो । कम्पनीले तत्काल यसको आरएक्सटी ओ भेरियन्ट मात्र नेपाल ल्याउने छ । मूल्य २४ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

पहिलेभन्दा केही लामो साइजमा आउन लागेको क्वीडमा सुरक्षा फिचरहरु थप भएको छ भने अगाडि ग्रिल र पछाडिको बम्परमा ठूलो परिमार्जन गरिएको छ । यसको इन्टेरियरमा पनि परिवर्तन रहेको छ ।

लकडाउन सकिएसँगै विभिन्न गाडी बिक्रेता कम्पनीहरुले नयाँ कार नेपाल ल्याउने क्रम बढेको छ । पछिल्लो हप्ता मात्रै मारुती सुजुकी र फक्सवागले नयाँ गाडी बजारमा ल्याएका थिए ।


Back_to_top