आई-२० एक्टीभ किन्न चाहनेले कुर्नु पर्ने, आउला पहिलेभन्दा बोल्ड डिजाइनमा

Rendered image

काठमाडौं । हुन्डाई मोटर्सको चर्चित उत्पादन आई-२० एक्टीभ किन्न चाहनेले कुर्नु पर्ने भएको छ । यसको नयाँ जेनेरेशन मोडल आएपछि मात्रै अब ग्राहकले किन्न सक्ने छन् ।

सन् २०१५ बाट बजारमा आएको यो मोडल अब किन्न चाहनेले संभवत २०२१ सम्म कुर्न पर्ने छ । नेपालको लागि हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले आफ्नो मूल्यसूचीबाट यो मोडललाई हटाएको छ ।

‘हामीसँग अब आई-२० एक्टीभको केही यूनिट मात्रै बाँकी छ । नयाँ मोडल २०२१ मा मात्रै आउने भएकाले हामीले मूल्यसूचीबाट यसलाई निकालेका हौँ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

साउन ८ गते नाडाले प्रकाशन गरेको नयाँ मूल्यसूचीमा हुन्डाई आई-२० एक्टीभको मूल्य प्रकाशन गरेको छैन । यद्यपी केही यूनिट बाँकी रहेकाले आफ्नो वेभसाइटमा भने मूल्य राखेको छ । यसको मूल्य ३८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

आई-२० एक्टीभ क्रसओभर मोडल हो । झट्ट हेर्दा एसयूभी जस्तो देखिने यो क्रसओभर कार नेपालमा निकै सफल मोडलमा पर्छ । हुन्डाईले भारतमा उत्पादन गरेको आई-२० एक्टीभ निकै प्रिमियम फिचरले भरिएको कार हो ।

चर्चा नयाँ जेनेरेशनको

आधिकारीक बिक्रेता कम्पनीको अनुसार नयाँ जेनेरेशन मोडलको तयारी भइरहेको छ । कम्पनीले सेप्टेम्बरमा नयाँ जेनेरेशन आई-२० इलाइट भारतीय बजारमा बिक्री सुरु गर्ने छ । त्यसको केही महिनापछि आई-२० एक्टीभ बजारमा आउने अनुमान गर्न थालिएको छ ।

यस्तोमा कम्पनीले आई-२० इलाइटको इन्टेरियर र एक्सटेरियर यसअघि नै सार्वजनिक गरिसकेको छ । यसको वेसमा आउने आई-२० एक्टीभको रेन्डर इमेज एसआरके डिजाइन स्टुडियोले बाहिर ल्याएको छ ।

डिजाइनर सोयब कलानियाले तयार गरेको रेन्डर इमेजमा नयाँ एक्टीभ निकै बोल्ड देखिएको छ । ड्यूल टोन कलरमा देखिएको कारको छाना कालो कलरमा रहेको छ ।

यसमा रुफरेल, अगाडि र पछाडि स्कीड प्लेट, रिडिजाइन फ्रन्ट ग्रिल, डायमण्ड कट अलोय ह्वील दिइएको छ । डेटाइम रनिङ लाइटको साथमा एलइडी हेडल्याम्प यसमा उपलब्ध गराइएको छ । यद्यपी हुन्डाईले यसको पुष्टि भने गरेको छैन ।


Back_to_top