पल्सर १५० टिडीलाई टक्कर दिन आयो टीभीएसको नयाँ मोटरसाइकल (तुलनात्मक भिन्नतासहित)

काठमाडौं । बजाजको सार्वधिक बिक्री हुने मोटरसाइकल १५० ट्वीन डिस्क र टीभीसको सर्वाधिक सफल मोटरसाइकल आरटीआर १६० फोर भी बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । जगदम्वा मोटर्सले नेपालमा आरटीआर १६० फोर भीको सिंगल डिस्क भर्सन बिक्री सुरु गर्ने भएपछि यी दुई मोडलबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।

जगदम्बा माेटर्सले हालै मात्र सार्वजनिक गरेको मूल्यसूचीमा उक्त मोटरसाइकल समावेश गरेको छ । हाल नेपालमा टीभीएस आरटीआर १६० फोर भी कम्पनीको धेरै बिक्री मोटरसाइकलमा पर्छ ।

बजाज पल्सर १५० ट्वीन डिस्क नेपाली बजारमा नै सर्वाधिक बिक्री हुने मोटरसाइकल हो । नेपाली भुगोल सुहाउँदो मोटरसाइकल रहेको कारण यो मोटरसाइकल युवादेखि जुनसुकै उमेर समुहका मानिसको रोजाइमा पर्दै आएको छ ।

यस्तै टीभीएस आरटीआर १६० फोर भी निकै आकर्षक मोडलको रुपमा रहेको छ । यो मोटरसाइकल सेग्मेन्टमा नै सर्वाधिक पावर भएको मोटरसाइकल हो । आर्कषक लुक्स तथा पावरका कारण नेपाली युवा वर्गको रोजाइमा यो मोटरसाइकल पर्ने गरेको छ ।

आज हामी यी दुई मोटरसाइकल बीच कस्ता भिन्नता छन् भन्ने विषयमा तुलनात्मक बिश्लेषण गर्दैछौं ।

पावर

बजाज पल्सर १५० मा १४९.०५ सीसी सिंगल सिलिन्डर ४ स्ट्रोक, २ भल्भ ट्वीन स्पार्क बीएस ४ इन्जिन रहेको छ । यो इन्जिनले १४ पीएस पावर ८००० आरपीएममा र १३.४ एनएम टर्क ६००० आरपीएममा जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । १५० सीसी सेग्मेन्टमा यो पावरफुल इन्जिन भएको मोटरसाइकल मानिन्छ ।

तर, पल्सरभन्दा १० सीसी क्षमता बढी भएको आरटीआर १६० फोर भीमा १५९.७ सीसी ४ स्ट्रोक, ४ भी, आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८२५० आरपीएममा १६ पीएस पावर तथा ७२५० आरपीएममा १४.१२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । पल्सरको तुलनामा यसले २ पीएस पावर बढी प्रदान गर्छ ।

डाइमेन्सन

पल्सर १५० को लम्वाई २०५५ एमएम, चौडाई ७६५ एमएम, उचाई १११५ एमएम रहेको छ । यसको ह्वीवेश १३४५ एमएम रहेको छ भने, ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ । यसको कुल तौल १४४ केजी रहेको छ ।

यस्तै आरटीआर १६० फोर भीको लम्वाई २०३५ एमएम, चौडाई ७९० एमएम, उचाई १०५० एमएम रहेको छ । यसको ह्वीवेश १३५७ एमएम रहेको छ भने, ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ । यसको कुल तौल १४९ केजी रहेको छ । यसरी हेर्दा यी दुबै मोटरसाइकल लगभग समान साइजका छन् ।

सस्पेन्सन

पल्सर १५० को फ्रन्टमा टेलिस्कोपिक फर्कको साथै एन्टी फ्रिक्सन वस रहेको छ भने रियरमा ५ वे एड्जस्टेवल सस्पेन्सनका साथै निट्रोक्स सक एव्जर्भर रहेको छ ।

आरटीआर १६० फोर भीको फ्रन्टमा टेलिस्कोपिक फर्क तथा रियरमा मोनो सक सस्पेन्सन रहेको छ ।

माइलेज

बजाज पल्सर १५० ट्वीन डिस्कले ६५ किलोमिटर प्रति लिटर माइलेज दिने कम्पनीको दावी गर्छ । आरटीआर १६० ले ४५ किलोमिटर माइलेज दिने कम्पनीको दावी रहेको छ । पल्सर १५० ट्वीन डिस्कमा १५ लिटर र आरटीआर १६० मा १३ लिटरको फ्युल ट्याङ रहेको छ । माइलेजको तुलना गर्दा पल्सर राम्रो रहेको छ ।

अन्य फिचर

बजाज पल्सर १५० ट्वीन डिस्कमा सेमि–डिजिटल इन्स्टुमेन्ट क्लस्टर रहेको छ । तर, टीभीएर आरटीआर १६० मा फुल डिजिटल इन्स्टुमेन्ट क्लस्टर रहेको छ । पल्सर १५० मोटरसाइकलमा डबल डिस्क ब्रेक रहेको छ भने, आरटीर १६० को फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक रहेको छ ।

यी दुबै मोटरसाइकलमा १७ इन्च अलाय ह्वील रहेको छ । दुबै मोटरसाइकलमा सेल्फ तथा किक स्टार्ट सुबिधा रहेको छ ।

मूल्य

बजाज पल्सर १५० ट्वीन डिस्क भर्सनको मूल्य २ लाख ६८ हजार ९०० रुपैयाँ रहेको छ । यस्तै आरटीआर १६० फोर भी सिंगल डिस्कको मूल्य २ लाख ७३ हजार ९०० रुपैयाँ तोकिएको छ । मूल्यको तुलनागर्दा पल्सर ५ हजार रुपैयाँले सस्तो रहेको छ ।

निश्कर्ष

मूल्यमा ठूलो अन्तर नरहेका यी दुई मोटरसाइकलमा धेरै बिशेषतहरु समेत समान रहेका छन् । राम्रो माइलेज र चलाउन सहज मोटरसाइकल खोज्नेलाई बजाज पल्सर १५० ट्वीन डिस्क उत्कृट रहेको छ । तर, तपाईको रोजाइमा पावर र स्टाइल पर्छ भने आरटीआर १६० फोर भी रोज्न सक्नु हुन्छ ।


Back_to_top