भारतमा डुब्न लागेको निसानको लागि संजिवनी बन्ला ‘म्याग्नाइट’, नेपालमा भने फरक दृश्य

काठमाडौं । निसान मोटर इन्डिया निकै समस्यामा परिरहेको छ । एकपछि अर्को मोडलको असफलताले भारतमा निसान टिक्नै नसक्ने अवस्थामा पुगेको छ । अहिले निसान इन्डियाले वार्षिक ७ अर्व २० करोड नेपाली रुपैयाँ घाटा व्योहोरी रहेको छ ।

कम्पनीले भारतमा आफ्नो बजार बिस्तार गर्न जुन किसिमको शक्ति र पैसा खर्च गरिरहेको छ । त्यसले प्रतिफल दिने कुनै छाँटकाँट देखाएको छैन । दुई वर्षअघि निकै महत्वाकांक्षाको साथ निसानले किक्सलाई भारतीय बजारमा उतारेको थियो त्यसले समेत निरास बनाएपछि कम्पनीले अर्को विकल्पको खोजी गरिरहेको छ ।

अहिले कम्पनीले भारतीय बजारलाई केन्द्रमा राखेर सव फोर मिटर एसयूभी म्याग्नाइट बजारमा उतार्ने तयारी गरिरहेको छ । उसोत निसानले भारतमा रहेको आफ्नो उत्पादन प्लान्टसमेत बिक्री गरिसकेको छ ।

भारतमा बजार हिस्सा बढाउनकै लागि कम्पनीले डाट्सन ब्राण्डको उत्पादन र बिक्री वितरण सुरु गरेको थियो । त्यसले पनि कुनै चमत्कार गर्न सकेन । अब कम्पनीको भरोसा पूर्णत निसान म्याग्नाइटमा टिकेको छ ।

वार्षिक ६० प्रतिशतले बिक्री गुमाउदै गएको निसान इन्डियाको लागि म्याग्नाइट गर या मरको रुपमा आएको छ । अहिले भारतमा निसानको भरोसा ग्लोबल पाटनर रेनो माथि रहेको छ । रेनोको प्लान्टबाट नै भारतमा निसान र डाट्सनका गाडी उत्पादन हुने गरेको छ ।

कम्पनीले सन् २०२० को अन्त्य वा २०२१ को सुरुवातबाट म्याग्नाइटको बिक्री सुरु गर्ने अनुमान गरिएको छ । तर, यसको ग्लोबल प्रिमियर भने कम्पनीले जापानबाट गरिसकेको छ ।

यो नै भारतमा निसानको भविष्य निर्धारण गर्ने मोडल भएको अटो पण्डितहरुको भनाई विभिन्न मिडियामा आउने गरेका छन् । जापानको दोस्रो ठूलो अटोमोवाइल निर्माता कम्पनी निसान भारतमा असफल हुनुको मुख्य कारण यसको डिलर नेटवर्कलाई लिने गरिन्छ ।

निसानका अधिकारीहरुले रोयटर्ससँग भनेका छन् ‘म्याग्नाइट पूर्णत भारतीय बजार केन्द्रित सानो साइजको एसयूभी हो । यसले हामीलाई भारतीय बजारमा स्थापित गर्न सक्छ ।’

भारतमा म्याग्नाइट मासिक १५ सयदेखि २ हजार यूनिट बिक्री गर्ने प्लान कम्पनीले गरिरहेको जापानी अधिकारीहरुले बताएका छन् । निसानले अपेक्षा गरेको यो संख्या अहिले निसान र डाट्सन मिलाएर बल्ल तल्ल पुरा भएको अवस्था छ ।

ठूलो परिमाणमा बिक्री गर्ने अपेक्षा गरिएको यो मोडल कम्पनीले भारतमा निकै कम मूल्य राखेर बिक्री गर्ने आँकलन गरिएको छ । यद्यपी यो सेग्मेन्टमा प्रायः सबै कम्पनीले आफ्नो मोडल उतारेको कारण यसको बिक्री सहज नभएको अनुमान लगाउन थालिसकेका छन् ।

अहिले यो सेग्मेन्टमा मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, टाटा नेक्सन, महिन्द्रा एक्सयूभी-३००, फोर्ड इकोस्पोट जस्ता मोडल बिक्री वितरण भइरहेको छ । साथै, यही सेग्मेन्टमा किया सोनेट, रेनो किगर जस्ता मोडल आउने तयारीमा रहेका छन् ।

नेपालमा फरक दृश्य

नेपालमा निसान विगत ३७ वर्षदेखि बिक्री वितरण हुँदै आएको ब्राण्ड हो । सुरुमा जापानबाट नै आयात भएर बिक्री वितरण भइरहेका निसानका कार टोयोटा पछिको विश्वासीलो जापानी ब्राण्डको रुपमा स्थापित भएको छ ।

भारतमा असफल भएको निसान किक्स नेपालमा सफलताको स्वाद चाख्न सफल भएको छ । त्यस्तै प्रतिस्पर्धी मूल्यको कारण डाट्सनका कार पनि नेपालमा सफल भएका छन् ।

पोयोनियर मोटोकर्पले बिक्री वितरण गर्दै आएको निसान र डाट्सनका कार नेपालीहरुको रोजाइमा पर्दै आएका छन् । यस्तोमा निसानले ल्याउने म्याग्नाइटपनि नेपालमा सफलहुने कम्पनीको विश्वास रहेको छ ।


Back_to_top