यसकारण चितवनको राजमार्गमा तीनपांग्रे सवारी सञ्चालनमा रोक

चितवन । चितवनको भरतपुर महानगरपालिकाले मुख्य सडक क्षेत्रमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाउने भएको छ । 

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनअनुसार साउन ५ गतेबाट लागू हुनेगरी उक्त सवारी साधन मुख्य सडक क्षेत्रमा सञ्चालनमा रोक लगाइएको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जानकारी दिए । 

सडकमा बढ्दो सवारी चाप र दुर्घटना न्यूनीकरण गर्न जरुरी रहेकाले ई–रिक्सा, अटो– रिक्सा र टेम्पुलाई मुख्य सडक क्षेत्रमा सञ्चालन रोक लगाइएको दाहालले बताए । 

उनका अनुसार भरतपुर महानगरमा पर्ने पूर्व–पश्चिम राजमार्ग, बाइपास रोड र नारायणगढ–मुग्लिन सडकखण्डमा तीनपांग्रे सवारी सञ्चालन रोक लगाइएको हो । भित्री सडकबाट अन्यत्र जानका लागि भने वारपार गर्न तोकिएको स्थानबाट क्रसरोडसमेत तोकिएको महानगरपालिकाले जनाएको छ । 

यसअघि पार्किङ व्यवस्थापन र फुटपाथ व्यवस्थापनमा महानगरपालिका सफल भएको दाबी गर्दै प्रमुख दाहालले तत्कालका लागि केही समस्या भए पनि दीर्घकालका लागि यो निर्णय महत्वपूर्ण हुने बताए । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख बेदप्रसाद गौतमले जिल्लामा यस्ता तीनपांग्रे सवारी करीब तीन हजारको हाराहारीमा रहेको जानकारी दिए । 

पछिल्लो समयमा साना सवारीबाट दुर्घटना बढेको भन्दै उनले तीनपांग्रे सवारी दुर्घटनापछि धेरैजसो भाग्ने गरेको स्मरण गरे । एउटै चालकले पटकपटक नियम उल्लंघन गरेको फेला परेकोसमेत उनको भनाइ छ । 

चालु आवमा नियम उल्लंघन गर्ने तीन हजार ८७३ तीनपांग्रे सवारीलाई कारबाही गरिएको छ । 


Back_to_top