गाडी आयात खुल्ने नखुल्नेमा अझै अनिश्चित

काठमाडौं । बैशाख १४ गतेदेखि राजपत्रमा सूचना प्रकाशित गरेर आयात प्रतिबन्ध लगाइएको निजी कम्बस्चन इन्जिन युक्त कारको आयात अझै खुल्ने वा नखुल्ने टुङ्गो भएको छैन ।

सुरुमा असार मसान्तसम्मको लागि आयात प्रतिबन्ध लगाइएकोमा साउन १ गते अर्को सूचना प्रकाशित गरेर भदौ १५ गतेसम्मको लागि आयात प्रतिबन्ध लगाइएको थियो । भदौ १५ गते अर्को निर्णय गर्दै आयात असोज २८ गतेसम्मको लागि लम्बाईएको थियो ।

आज सरकारले अर्को कुनै निर्णय नगरेको खण्डमा भोलिबाट आयात खुल्ला हुनेछ । आयात खुल्ला गर्ने वा नगर्ने विषयमा अर्थ मन्त्रालय, योजना आयोग, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल राष्ट्र बैंकले छुट्टाछुट्टै अध्ययन गरिरहेका छन् । नेपाल राष्ट्र बैंक बाहेक अन्य सबै निकाय आयात खुल्न सकारात्मक देखिएका छन् ।

‘हामी आयात खोल्नु पर्छ भन्ने निष्कर्षमा पुगेका छौं । यसले हाम्रो राजश्व प्रणालीमा नै असर पार्ने काम गरिरहेको छ । साथै, अन्तर्राष्ट्रिय बजारमा पनि नेपालको आर्थिक अवस्था र आयात प्रतिबन्धको विषयमा टिकाटिप्पणी हुन थालेको छ । त्यसले यसलाई खुल्ला गर्नु पर्छ भन्ने हाम्रो भनाई हो’, अर्थमन्त्रालय स्रोतले भन्यो ।

असोजको पहिलो साता आयोजना भएको नाडा ईभी एक्स्पो २०२२ को उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले आयात खुल्ला गर्ने विषयमा छलफल भइरहेको बताएका थिए । उनले भनेका थिए, ‘हामी आयात खुल्ला गर्ने तयारीमा छौं । देशको आर्थिक अवस्था हेरेर तपाईहरु पनि व्यवसाय गर्नुहोस् ।’

अर्थमन्त्रीको भनाई जस्तै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले नाडा मार्फत तीन महिनामा कुन ब्राण्डले कति गाडी आयात गर्न चाहेका छन् भनेर सोधेको थियो । तर, व्यवसायीहरुले राम्रै संख्यामा गाडी आयात गर्न चाहेको जनाएका छन् ।

‘तीन महिनाको लागि ६/७ ब्राण्डले ठूलो परिमाणमा गाडी आयात गर्ने उल्लेख गरेर पठाएका छन् । अहिले करिब ७ महिनामा विक्री भएको संख्याभन्दा धेरै गाडी तीन महिनामा आयात गर्नु पर्ने विवरण ब्यवसायीले मन्त्रालय पठाएका छन् । हेरौं सरकारले कस्तो निर्णय लिन्छ’, एक व्यवसायीले मेरोअटोसँग भने ।

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाका अनुसार यतिका लामो समय आयात प्रतिबन्ध लगाएर सरकारले यो क्षेत्रमा भएको लगानीलाई डुबाउने प्रयत्न गरिरहेको बताए ।

सरकार र व्यवसायी बीच धेरै पटक आयात खुल्ला गर्ने विषयमा छलफल भएपनि भोलिबाट पनि आयात खुल्ने वा नखुल्ने कुनै टुङ्गो लागिसकेको छैन ।


Back_to_top